पैसा धुत्ने र यौनशोषण गर्ने नेपाली साधु भारतबाट पक्राउ

पैसा धुत्ने र यौनशोषण गर्ने नेपाली साधु भारतबाट पक्राउ

बाबा शिवसुत गौरीले निःसन्तान महिलालाई भन्छन्, ‘हजुर त साक्षात महादेवीको अवतार होइबक्सिन्छ, तर सानो खोट छ !’ ‘महादेवी’ ले आफ्नो ‘खोट’ सोधिन् । ‘दान, दक्षिणा, आदि, इत्यादि धर्म–कर्म पुगेन हजुर...!’ बाबाको आदेशमा उनले ठाउँको ठाउँ १० लाख रुपैयाँ दान गरिन् ।

अहिले दान दिने ‘महादेवी’ मुख छोपेर सुँक्सुकाउँदै प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) मा धाइरहेकी छन्, दान लिने बाबा शिवसुत गौरी हत्कडीमा बाँधिएर हिरासतमा थन्किएका छन् । ‘महादेवी’ ले प्रहरीलाई पीडा सुनाइन्, ‘९ तोला सुन, ३८ लाख रुपैयाँ नगद लग्यो, सन्तान हुन्छ भनेपछि शारीरिक शोषण गर्‍यो , यसलाई मार्नुपर्‍यो सर...!’

यिनी र यिनीजस्ता २२–२५ जना महिलाको लाइन लागेको छ, महाराजगञ्जस्थित सिआइबी कार्यालयमा । काठमाडौंमा मात्रै ५० देखि ५५ जना धनाढ्य महिला पीडित भएका छन् । प्रहरीको अनुमानअनुसार काठमाडौंमा पीडितको संख्या ३ सय नाघ्ने अवस्था छ । कसैका नगदमात्रै त कसैको नगद र गरगहना ठगिएको छ । कतिपय महिलामाथि शारीरिक शोषण गरिएको उजुरी छ । यसरी साधुको भेषमा ठगी र लुटपाटमा संलग्न व्यक्ति हुन्, दोलखा स्थायी ठेगाना भएका पुरुषोत्तम काफ्ले । आफूलाई बाबा शिवसुत गौरी भनी चिनाउने उनी केही वर्षअघिसम्म काठमाडौंका विभिन्न ठाउँको ‘आश्रम’ मा बस्थे ।

जागिर नपाएकाले जागिर पाउने, सन्तान नभएकाले सन्तान पाउने, सम्पत्ति कमाउन नसकेकाले सम्पत्ति पाउने, पति र सन्तानको उन्नति हुन नसकेका महिलालाई ‘सौभाग्यवती’ बनाइदिनेजस्ता नाममा उनले अनगिन्ती महिलामाथि आर्थिक, शारीरिक र मानसिक शोषण गरेका थिए । अहिले ४८ वर्ष उमेर पुगेका उनले ३२–३३ वर्षको उमेरदेखि झारफुक र तन्त्रमन्त्रको काम गर्दै आए । त्यसक्रममा कतिपय महिलाले पतिलाई, कतिपय पुरुषले पत्नीलाई ढाँटेर, छलेर ‘दान–दक्षिणा’ दिए । कसैको केही उन्नति, प्रगति भएन । जब एउटा ‘आश्रम’ मा धेरै मान्छे ठगिन्थे, त्यसपछि उनी भेष बदलेर अर्कै ठाउँमा सर्थे । काठमाडौंका विभिन्न ठाउँमा ‘आश्रम’ सार्दै–फेर्दै हिँडे, तर टिक्न सकेनन् ।

पुरुषमा गायक आनन्द कार्कीसहित डिआइजी र जर्नेल तहका व्यक्ति पनि उनीबाट ठगिएका छन् । काठमाडौंबाट भागेपछि, नेपाली भाषीको बाहुल्यता रहेको पूर्वोत्तर भारतीय शहर असम र गुवाहटीतिर लागे । त्यहाँ पनि धेरै मानिस ठगेपछि मुम्बई पुगे । त्यहाँबाट लखेटिएर लामो समयदेखि हरिद्वारमा बस्दै आएका थिए । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले नेपालभरि खोजी गरेर नभेटेपछि गत महिना एक जना डिएसपीको कमाण्डमा भारतका विभिन्न शहरमा खोज्न पठायो । त्यो टोली कहिले मध्यप्रदेश त कहिले उत्तराखण्डका विभिन्न आश्रम र कुटीतिर चहार्दै हिँड्यो । उनी हिन्दूहरूको प्रसिद्ध तीर्थस्थल हरिद्वारमा छन् भन्ने सूचनाका आधारमा टोली त्यहाँ पुग्यो । र, भारतीय प्रहरीको सहयोगमा समातेर गत साता काठमाडौं ल्याएको छ । 

उनीबाट २ करोड ६९ लाख रुपैयाँ ठगी भएको प्रारम्भिक सूचनाका आधारमा मुद्दा शुरु गरिएको छ । यद्यपि, हिजै पनि थप महिला उजुर हाल्न पुगेकाले रकम र पीडितको संख्या बढ्ने सम्भावना छ । यो संख्या ४ हजारसम्म पुग्न सक्छ । उता, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार कर्मचारीकै मिलेमतोमा सुन तस्करी भएको छ । उक्त कार्यमा संलग्न कर्मचारी र कारोबारीहरूलाई सिआइबीले नियन्त्रणमा लिई कारवाही अगाडि बढाएको छ ।

गत पुस महिनामा एक चिनियाँ नागरिकले दुई सुटकेस सात सयभन्दा बढी भेप (विद्युतीय सिगरेट) ल्याउँदा भन्सार कानुनविपरित भन्दै नियन्त्रणमा लिइएको थियो । पाँच महिनापछि एकाएक सुटेकस साँटियो । यसपछि होहल्ला हुँदै जाँदा सुटकेस साँटिनुको कारणबारे अनुसन्धान शुरु भयो । खुल्यो पनि, त्यसभित्र १० केजी सुन थियो । अर्थात्, भन्सारका नासु रेवन्त खड्का र लोडर दिनेश बस्नेतको मिलेमतोमा भेपभित्र हालिएका सुन निकाल्दै बेच्ने काम भएको थियो । कतिपय सुन प्रहरीले बरामद गरेको छ ।

अधिकांश सुन नेपालभित्रैका विभिन्न सुन पसलमा बिक्री भएको आधारमा किन्ने पसले र ग्राहकलाई पनि सिआइबीले नियन्त्रणमा लिएको छ । रेवन्तले त्यही पैसाबाट काठमाडौंको पेप्सीकोलामा ६ र ४ आना जग्गा किनेको पनि फेला परेको छ । चिनियाँ नागरिकलाई भने १०–१२ लाख रुपैयाँ लिएर भगाएको प्रहरीको आरोप छ ।

टिप्पणीहरू