एनआरएनएको मध्यपूर्व सम्मेलनमा ओमानका नेपाली असन्तुष्ट

एनआरएनएको मध्यपूर्व सम्मेलनमा ओमानका नेपाली असन्तुष्ट

ओमनको राजधानी मस्कटमा जारी ८ औं एनआरएनए मध्यपूर्व क्षेत्रीय सम्मेलन विवादमा परेको छ । श्रमिकको हित प्रतिकूल रहेको भन्दै असन्तुष्टि चर्किएपछि सम्मेलन विवादित भएको हो । 

जसका कारण ओमनमा सकृय राजनीतिक दलका भातृ संगठन, जातीय संगठन र अन्य सामाजिक संघसंस्थाहरुले सम्मेलन बहिष्कार गर्दा श्रमिकको उपस्थिति अत्यन्त न्यून रहेको छ । एनआरएनएले ओमनका अन्य संघसंस्थालाई अपहेलना गरेको भन्दै आफूहरु कार्यक्रममा भाग नलिएको त्यहाँस्थित  एक राजनीतिक भातृ संगठनका नेताले बताए ।

´केही बोले पुलिस लगाइदिने धम्की आउँछ', उनले भने, 'केही समय पहिले धेरै बोलेको भनेर एनआरएनएका साथीहरुले दूतवासमा उजुरी नै गरे, अनि कसरी भाग लिनु ?´ 'अनिवार्य सामाजिक सुरक्षा, सम्मानित बैदेशिक रोजगार, रेमिट्यान्सको सही लगानी, राष्ट्र निर्माणको आधार' भन्ने नारासहित हिजोदेखि शुरु भएको सम्मेलनमा श्रमिकसँग सम्बन्धित वैदेशिक रोजगारीबारे विभिन्न सेसनहरुमा छलफलको कार्यक्रमसमेत तय गरिएको छ ।

 

ओमनका श्रमिकहरु अनुपस्थित भएपछि आयोजकले स्वयंसेवकसमेत दुबईबाट आएका प्रतिनिधिहरुलाई खटाउनु परेको बताइएको छ । एनआरएनए ओमनले भने 'कार्यक्रम आफूले नगरेको र केही जान्न मन लागे ५० डलर तिरेर भाग लिन पाउने' भनेर पत्राचार गरेको थियो । ओमनका श्रमिकले ५० डलर तिर्नुपर्ने तर बाहिरका प्रतिनिधिहरुले भने नि:शुल्क उपस्थिति जनाउन पाउने प्रावधान रहेको पत्रमा जनाइएको छ । 

भव्य भनेर प्रचार गरिएको उक्त कार्यक्रमको उद्घाटन उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले गरेका थिए । पूर्वउपप्रधान मन्त्री रघुवीर महासेठ, श्रम सचिव, बैदेशिक रोजगार बिभागका महाप्रबन्धक, सामाजिक सुरक्षा कोषका पदाधिकारीहरु र खाडी मुलुकका दूतावासका प्रतिनिधिहरुको सम्मेलनमा उपस्थिति रहेको छ ।

टिप्पणीहरू