काँग्रेसको सदस्यता अब अनलाइनबाटै

काँग्रेसको सदस्यता अब अनलाइनबाटै

नेपाली कांग्रेसले अनलाइनबाट सदस्यता वितरण सुरु गरेको छ । काँग्रेसले अनलाइन आवेदनमार्फत् साधारण सदस्यता बाँड्न थालेको हो । 

कांग्रेसको विधानमा साधारण र क्रियाशील गरी दुई प्रकारका सदस्यता वितरण हुने व्यवस्था छ । विगतमा साधारण सदस्यता दिने प्रचलन थिएन । साधारण सदस्यता प्राप्त गरेको व्यक्तिले एक वर्षपछि मात्रै क्रियाशील सदस्यता पाउने विधानको प्रावधान छ ।

अनलाइनबाट सदस्यता दिने प्रणाली शुरु भएसँगै अब साधारण सदस्यले पनि आफ्नो सदस्यता प्राप्त गर्ने भएका हुन् । त्यसका लागि काँग्रेसको वेबसाइटमा रहेको फर्म डाउनलोड गरेर भर्नुपर्ने हुन्छ । नाम, जन्ममिति, इमेल आइडी, मोबाइल नम्बर, राष्ट्रिय परिचयपत्र नम्बर, ठेगाना, ब्लड ग्रुप, भाषा, पेशा प्रदेश, जिल्लालगायतको विवरण भर्नुपर्दछ ।

साथै, पासपोर्ट आकारको तस्वीर, नागरिकताको अघिल्लो भाग र पछाडिको फोटो पनि अपलोड गर्नुपर्ने हुन्छ । सदस्यता प्राप्त गर्नका लागि २० रुपैयाँ तोकिएको छ । सो रकम पनि अनलाइनबाटै तिर्न सकिने व्यवस्था मिलाइएको छ । 

अनलाइन मार्फत् नै सदस्यता प्रिन्ट गर्न सकिने पनि जनाइएको छ ।

टिप्पणीहरू