माइतीघरमा राष्ट्रपति, प्रधानमन्त्री र अदालतलाई धन्यवाद

माइतीघरमा राष्ट्रपति, प्रधानमन्त्री र अदालतलाई धन्यवाद

प्रमाणीकरण भएको नागरिकता अध्यादेश नरोक्न सर्वोच्च अदालतले आदेश दिएको खुशीयालीमा नागरिकताविहीनहरुले राष्ट्रपतिदेखि अदालतसम्मलाई धन्यवाद दिएका छन् । 

हिजोसम्म माइतीघरमा धर्ना बसेका उनीहरुले आज सोही ठाउँमा भेला भएर राष्ट्रपति, प्रधानमन्त्री र सर्वोच्चलाई धन्यवाद दिएका हुन् । 

सर्वोच्चले नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपतिको निर्णय कार्यान्वयन नगर्न दिएको पुरानो अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि नागरिकताविहीनहरुलाई अब नागरिकता लिने बाटो खुलेको छ । त्यसको खुशीमा हिजो माइतीघरमै खुशी साटासाट गरेका उनीहरुले आज धन्यवाद ज्ञापन कार्यक्रम राखेका हुन् । 

कार्यक्रमका सहभागीहरुले ‘अब आमाको नामबाट पनि नागरिकता पाइने भयो’, ‘सर्वोच्च अदालत धन्यवाद’, ‘राष्ट्रपति रामचन्द्र पौडेल धन्यवाद’, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड धन्यवाद’, ‘निरज झालाई सहिद घोषणा गर’ लेखिएका प्लेकार्ड देखाएका छन् ।  

सर्वाेच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासले संसदबाट दुई–दुई पटक पारित भएको नागरिकता विधेयक प्रतिनिधिसभाको कार्यकाल सकिएपछि निष्कृय भयो वा शून्यमा गयो भन्न नमिल्ने ठहर गरेकोसँगै अब संविधानअनुसार जन्मसिद्धका सन्तानले वंशजको नागरिकता पाउने बाटो खुलेको छ ।

संघीय संसदका दुवै सदनले दुई चोटीसम्म पारित गरेर अन्तिम प्रमाणीकरणका लागि पठाएको विधेयक अघिल्लो राष्ट्रपति विद्यादेवी भण्डारीले त्यसै थन्क्याइदिएपछि हालका राष्ट्रपतिले प्रमाणीकरण गर्नुभएको थियो । उक्त प्रमाणीकरणको संवैधानिक हैसियत नरहेको जिकिरसहित राजावादी वकिल भनेर चिनिएका बालकृष्ण न्यौपाने र सुरेन्द्र भण्डारीले सर्वोच्चमा रिट हालेका थिए ।

टिप्पणीहरू