बुटवलमा निःशुल्क स्वास्थ्य शिविर

बुटवलमा निःशुल्क स्वास्थ्य शिविर

बुटवलमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । महिला, बालबालिका र जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण तथा उपचारलाई प्राथमिकता दिँदै बुटवल उपमहानगरपालिकाले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको बताइएको छ ।

उपमहानगरपालिकाले महिलाको पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, आङ खस्ने समस्याका साथै १४ वर्ष मुनिका सबै बालबालिकाको पोषण अवस्थाको परीक्षण गराएको हो । नगर प्रमुख खेलराज पाण्डेयका अनुसार सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दाको प्राविधिक सहकार्यमा उपमहानगरपालिकाले हिजो स्वास्थ्य शिविर सञ्चालन गरेको हो । 

उपमहानगरपालिकाको वडा नम्बर ११ बुद्धनगरस्थित शहरी स्वास्थ्य केन्द्रमा सञ्चालित शिविरबाट अधिकांश स्थानीयबासी लाभान्वित भएको जानकारी दिँदै उनले महिला, बालबालिका र जेष्ठ नागरिकको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै आगामी दिनमा सबै वडामा यस्ता स्वास्थ्य शिविर सञ्चालन गर्ने बताए । 

‘हामीले बुटवलको स्वास्थ्यलाई स्तरीय बनाउँदै अन्यत्र उपचारका लागि जानु नपरोस् भन्ने गरी केही कामको थालनी गरेका छौं,’ नगर प्रमुख पाण्डेयले भने, ‘यसले बुटवललाई स्वास्थ्य क्षेत्रमा धेरै अगाडि लैजानेछ ।’ 

उनले आम्दा अस्पताललाई तीन सय बेडमा सञ्चालन गर्ने र फार्मेसी, नर्सिङको अध्ययनसँगै न्युरोसम्बन्धी उपचारको तयारी गरिरहेको दाबी गरे । त्यस्तै, बुटवलमा हाल दुई वटा १५÷१५ बेडका अस्पताल निर्माण भइरहेको र आगामी आर्थिक वर्षदेखि सञ्चालनमा ल्याइने समेत उनले जानकारी दिए  ।

उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले शिविरमा प्रसुति रोग विशेषज्ञ डा.राजेन्द्र बस्याल, डा.बालगोविन्द्र चौधरी, बालरोग विशेषज्ञ डा.सुन्दर न्यौपाने, स्वास्थ्यकर्मीहरु ज्ञानु केसी, सुनिता चौधरी र शहरी स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीको परिचालन गरिएको जानकारी दिए । 

उनले आगामी दिनमा सबै वडामा उपमहानगरपालिकाले यस्ता स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना राखेको समेत बताए ।

टिप्पणीहरू