होला सार्वजनिक यातायातमा सुधार ?

होला सार्वजनिक यातायातमा सुधार ?

काठमाडौं उपत्यकाबाहिर चल्ने सम्पूर्ण यात्रुवाहक सवारी साधन गोगंबुस्थित नयाँ बसपार्कबाटै सञ्चालन गर्न थालिएको छ । काठमाडौं महानगरपालिकाले गत जेठ १९ गते सूचना जारी गर्दै उपत्यकाका तीन जिल्लाबाहेक अन्य जिल्लामा चल्ने यात्रुवाहक सवारीसाधन हिजोदेखि गोंगबुको नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्न पाइने बताएको थियो । 

ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएपछि महानगरपालिकाले लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात नयाँ बसपार्कबाटै छुट्नुपर्ने पूरानो नियमलाई कडाइका साथ लागू गर्न लागिएको बताएको छ । त्यस्तै, महानगरपालिकाले यत्रतत्र छरिएर सञ्चालनमा रहेका टिकट काउण्टर पनि हटाउन थालेको छ ।

यसअघि मुलुककै राष्ट्रिय बसपार्कको रुपमा परिचित गोंगबुस्थित नयाँ बसपार्क बाहिर पनि यात्रु ओराल्ने र चढाउने गरिँदै आइएको थियो । अब भने बस चढ्न गोगंबु नै पुग्नुपर्ने छ । त्यस्तै, उपत्यकाबाहिरबाट आएका यात्रुहरु पनि बसपार्कमै ओर्लिनुपर्ने व्यवस्था गरिएको बताइन्छ । 

महानगरपालिकाको यो निर्णयले सार्वजनिक सवारी साधन व्यवस्थित हुनेमा सरकारी अधिकारीहरु विश्वस्त छन् । गाडी चढ्न र टिकट काट्न गोगंबु नै धाउनुपर्ने भएपछि सर्वसाधारणले भने असन्तुष्टि जनाएका छन् । 

काठमाडौं उपत्यकाभित्र प्रवेश गर्ने सार्वजनिक सवारी साधनलाई व्यवस्थित तथा पार्किङ्ग गराउन काठमाडौं महानगरपालिकाले वि.सं. २०५६ मा ल्होत्से बहुउद्देश्यीय प्रालिसँग सम्झौता गरी नयाँ बसपार्क सञ्चालनमा ल्याएको हो । तर, बसपार्क हुँदाहुँदै पनि बस सेवा सडक किनारबाट सञ्चालन हुँदै आइरहेको थियो । 

बसपार्कमा झण्डै आठ सय सार्वजनिक सवारी साधन अट्ने पार्किङ्ग छ । काठमाडौंमा दैनिक सात सयको संख्यामा सवारी प्रवेश गर्छन् र त्यही संख्यामा बाहिरिन्छन् । बाहिरी जिल्ला जाने बसले जथाभावी यात्रु ओराल्ने र चढाउने गर्दा ट्राफिक जामसँगै दुर्घटना बढेपछि यातायात व्यवस्था विभागले यसअघि गोगंबुबाट मात्र बस सञ्चालन गर्ने निर्णय गरेको थियो । 

तत्कालीन यातायातमन्त्री रघुवीर महासेठको पालाका डिजी रुपनारायण भट्टराईले २०७४ चैत १८ गते सबै सार्वजनिक यातायात गोगंबुस्थित बसपार्कबाट चलाउने र बसपार्कबाहिर सञ्चालित टिकट काउन्टर हटाउने बताएका थिए । तर, टिकट काउण्टर सञ्चालकहरुले विरोध जनाएपछि विभाग पछि हटेको थियो । महानगरपालिकाले त्यतिबेलाको निर्णय अहिले कार्यान्वयनमा ल्याएको जानकारी दिएको छ । 

यो निर्णयले जथाभावी गाडी रोक्दा भइरहेको अस्तव्यस्तको अवस्था हट्ने बताइएको छ । एक हदसम्म सर्वसाधारणलाई झन्झट भएपनि समग्र यातायात क्षेत्रमा सुधार आउने सरोकारवाल निकायको भनाई छ । हिजोसम्म गौशाला, कोटेश्वर, कंलकी, जडीबुटीलगायत स्थानमा टिकट काउण्टर सञ्चालनमा थिए । 

एउटै घरमा तीन वटासम्म टिकट काउण्टर खोलिएको थियो । सडक छेउमा सटर लिएर टिकट काउण्टर राख्दा पैदलयात्रीदेखि सवारीधनीहरुलाई समेत सास्ती हुँदै आइरहेको थियो । जथाभावी खुलेका टिकट काउण्टरका कारण शहर नै कुरुप बनेको महानगरको दाबी छ । 

महानगरपालिकाको निर्णयमा समन्वय गर्छौंः विभाग

यातायात व्यवस्था विभागका सूचना अधिकारी ईश्वरीप्रसाद पनेरुले महानगरपालिकाको निर्णयमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । यातायात क्षेत्र सुधारका लागि विभागले सरोकारवाला निकायसँग समन्वय गरेर अघि बढ्ने तयारी गरिरहेको उनको भनाई छ । 

उनका अनुसार यस विषयमा विभागमा हालै छलफल भएको थियो । सबैलाई दण्ड गर्न नसकिने भएकाले सम्झाएर, बुझाएर यातायात क्षेत्र सुधार गर्ने निष्कर्ष विभागले निकालेको उनले जानकारी दिए । 
‘यातायात क्षेत्र सुधारका लागि हामीले हरसम्भव कोशिस गरिरहेका छौं । यसका लागि सरोकारवाला निकायसँग समन्वय गर्ने काम पनि भइरहेको छ । सबैलाई कारबाही गरेर साध्य लाग्दैन । विस्तारै सुधार हुन्छ’, उनले भने । 

महानगरपालिकाको नीति सकारात्मक : यातायात अभियन्ता 

यातायात क्षेत्र सुधारका लागि वर्षौंदेखि आवाज उठाउँदै आएका यातायात अभियन्ता रामबहादुर थापा महानगरपालिकाको यो निर्णय सकारात्मक भएको बताउँछन् । सार्वजनिक यातायात सेवालाई चुस्त बनाउनुपर्ने उल्लेख गर्दै उनले निश्चित स्थान तोकेर सवारी साधन सञ्चालन गर्दा ट्राफिक व्यवस्थापनमा सहज हुने बताए । त्यस्तै, जथाभावी गाडी रोकेर यात्रु ‘पिक एण्ड ड्रप’ गर्ने समस्याको पनि अन्त्य हुने उनको विश्वास छ । 

‘महानगरपालिकाले बसपार्कबाटै सवारी साधन सञ्चालन गर्न गरेको पहल निकै राम्रो छ । यातायात क्षेत्रमा सुधारको आशा पलाएको छ । विगतमा यो निर्णय भएको थियो तर दबाबमा आएर सरकार नै पछाडि हट्यो । महानगरपालिकाले यातायात क्षेत्र व्यवस्थापन गर्न खोजेको हो’, उनले भने, ‘सरकारले गरेको निर्णय सबैलाई चित्त बुझ्छ भन्ने छैन । सरकारले समग्र पक्ष हेर्नुपर्छ । अब सहजताका लागि भनेर घरघरमा बस त जाँदैन नि, त्यस्तै त हो । सुधार चाहिएको छ भने सर्वसाधारणले पनि अलिअलि झण्झट बेहोर्नुपर्छ । विस्तारै व्यवस्थापन भएपछि आफैंलाई सहज हुने हो ।’ 

सरकारी बसपार्कमा ल्होत्सेको मनोमानी 

नयाँ बसपार्कको ठेकेदार ल्होत्से कम्पनीले गुण्डागर्दी गरेको भन्दै यातायात मजदूरहरु यसअघि सडकमा उत्रिएका थिए । उनीहरुले बालाजु क्षेत्रमा गाडी तेर्साएर आन्दोलन गरेर ल्होत्से मल तोडफोडसमेत गरेका थिए । २०५६ सालमा काठमाडौं महानगरपालिकासँग सम्झौता गरेर बसपार्क सञ्चालन गर्ने ठेक्का पाएको ल्होत्सेले आफ्नो मनोमानी निरन्तर चलाउँदै आएको आरोप छ । 

महानगरको वडा नम्बर २६ मा रहेको नयाँ बसपार्क जापान सरकारको सहयोगमा बनाइएको हो । १६१ रोपनीमध्ये ६१ रोपनीमा बसपार्क सञ्चालनमा छ । जापान सरकारले बसपार्क निर्माण गर्नुअघि त्यो आम नागरिकको गरिखाने थलो थियो । बसपार्कबाहेक अन्य बाँकी जग्गामा ल्होत्सेले ठूला भवन बनाएर होटल, रेष्टुरेण्ट, व्यापारिक मल सञ्चालनमा ल्याएको छ । ल्होत्सेले महानगरपालिकालाई वार्षिक एक करोड १० लाख रुपैयाँ भाडा बुझाउँदै आएको बताइन्छ । 

तर, ल्होत्सेले महिनामा त्यहाँबाट करोडौं आम्दानी गर्छ । यात्रुले टिकटवापत तिरेको रकमको २० प्रतिशत ल्होत्सेले लिन्छ । जस्तै कि यात्रुले दुई हजारको टिकट काटे भने ल्होत्सेले चार सय रुपैयाँ पाउँछ, गाडी चालकले १६ सय । त्यस्तै, लोकल गाडीले बसपार्कमा प्रवेश गरेको दुई सय र लामो रोडको गाडीले आठ सय रुपैयाँ तिर्नुपर्छ । 

२४ घण्टा गाडी पार्किङ्ग गरेवापत पनि आठ सय रुपैयाँ तिर्नुपर्छ । दैनिक सात सय वटा गाडी बसपार्क भित्रिने र बाहिरिने गरेको बताइन्छ । अब यो संख्या दोब्बर भएको अवस्थामा ल्होत्सेको आम्दानी पनि स्वतः बढ्छ । ल्होत्सेले बनाएको थुप्रै भवन भाडामा लगाएको छ । तत्कालीन मेयर केशव स्थापित र ल्होत्सेबीच भएको सम्झौता ४५ वर्षको छ ।

उक्त सम्झौता रद्द गरेर नयाँ टेण्डर आह्वान गर्न यसअघि पनि पटकपटक माग उठिसकेको छ । तर, महानगरपालिकाले वेबास्ता गर्दै आइरहेको छ । महानगरपालिकाले नयाँ टेण्डर आह्वान गरेको अवस्थामा ल्होत्सेले तिरेकोभन्दा बढी भाडा तिर्नेहरुको ओइरो लाग्छ । 

सार्वजनिक यातायातको साधनमा पनि सुधार 

यातायात व्यवस्था विभागले लामो र मध्यम दूरीमा चल्ने सार्वजनिक यातायात सुधारका लागि ‘यातायात व्यवस्था कार्यविधि निर्देशिका, २०६०’ संशोधन गरेको छ । संशोधित निर्देशिकाअनुसार अब सार्वजनिक सवारीको भित्री र बाहिरी भाग सफासुग्घर राख्नुपर्ने छ । सीटको खोल, भुईं, सिसा, पर्दा, सिलिङ अनिवार्य रुपमा सफा गर्नुपर्ने विभागको भनाइ छ । 

त्यस्तै, सार्वजनिक सवारी साधनभित्र धुम्रपान पूर्णरुपमा निषेध गर्नुपर्ने र ध्वनि प्रदुषण हुनेगरी ठूलो आवाजमा संगीत बजाउन नपाइने विभागले स्पष्ट पारेको छ । लामो तथा मध्यम दूरीका सवारी साधन सरसफाइयुक्त खाना खाने स्थान तथा सरसफाइयुक्त शौचालय भएको स्थानमा मात्र रोक्न पाइनेछ । यता, चालक तथा सहचालकले नियमित रुपमा व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिनुपर्ने र टिकट काउण्टरमा कार्यरत कर्मचारीले अनिवार्य रुपमा कम्पनीले उपलब्ध गराएको परिचयपत्र लगाउनुपर्ने छ ।

टिप्पणीहरू