लामखुट्टेको प्रकोप बढ्यो, डेङ्गुबाट जोगिन सरकारको आग्रह

लामखुट्टेको प्रकोप बढ्यो, डेङ्गुबाट जोगिन सरकारको आग्रह

सरकारले आमसर्वसाधारणलाई  डेङ्गु संक्रमणबाट जोगिन आग्रह गरेको छ । बर्खा लागेसंगै लामखुट्टेको प्रकोप बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेङ्गु संक्रमण हुन सक्ने भन्दै सचेत गराएको हो । 

‘एडिज इजिप्टाइ’ नामक पोथी लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गु नियन्त्रणका लागि मन्त्रालयले तीन उपाय अप्नाउन आग्रह गरेको छ । मन्त्रालयका अनुसार लामखुट्टेको वृद्धिविकास रोक्न लामखुट्टेले फुल पार्न सक्ने स्थान पत्ता लगाएर नष्ट गरेमा डेङ्गु नियन्त्रण गर्न सकिनेछ । 

एडिज लामखुट्टे जमेको पानीमा जन्मने र हुर्कने भएकाले गमला, टायर वा कुनैपनि खुला भाँडामा पानी जम्न दिन नहुने मन्त्रालयको भनाइ छ । त्यस्तै, कुँवाको पानी, खाल्डाखुल्डीमा जम्मा भएको पानी, नालाको पानीमा पनि यस लामखुट्टेले बच्चा जन्माउन सक्छ । 

मन्त्रालयले आफ्नो घर वरपर भएको खाल्डाखुल्डी पुर्नसमेत सुसूचित गराएको छ । साथै, मन्त्रालयले डेङ्गुबाट बच्ने उपायहरु पनि सिकाएको छ । पानी राखिएको भाँडा खुला नछोड्न, भान्सा र बाथरुम सुख्खा राख्न, झ्याल ढोकामा जाली लगाउन, शरीर पूरा ढाक्ने गरी लुगा लगाउन, सुतेको समयमा झुल प्रयोग गर्न, घर आसपास लामखुट्टे मार्ने औषधी छर्किन मन्त्रालयले भनेको छ । 

डेङ्गुको लक्षण तुरुन्त देखिँदैन्, तीनदेखि १४ दिनको अन्तरमा देखिन्छ । यसको संक्रमण भएमा एकदमै चिसो अनुभव हुने र ज्वरो आउने हुन्छ । डेङ्गु संक्रमण भएको बिरामीलाई निकै कमजोरी भएको महसुश हुन्छ । जिब्रोले खानाको स्वाद नै थाहा पाउँदैन् । मन्त्रालयले यस्ता कुनै लक्षण देखिएमा तुरुन्त स्वास्थ्यकर्मीसंग सल्लाह गरी उपचार गराउन आग्रह गरेको छ ।
 

टिप्पणीहरू