सबको आङ सिरिंग बनाउने ३२ मीनेटको त्यो संवाद

सबको आङ सिरिंग बनाउने ३२ मीनेटको त्यो संवाद

नक्कली भुटानी शरणार्थी काण्डमा एकपछि अर्को रहस्यका पोका खुलिरहँदा आफूलाई इमानको प्रतीक बनाएर ‘गोहीको आँशु झारेका’ एक राष्ट्रसेवक सरकारी कर्मचारीको ढोंग छाराष्ट भएको छ । नेपालीलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउने कार्य गम्भीर अपराध हुने र यस प्रकरणमा संलग्न सबैलाई कारबाहीको माग राख्दै मिडियामा छाएका भन्दै इलाका प्रशासन कार्यालय दमकका नायब सुब्बा सुरेन्द्रराज दाहालको गिरोहका सदस्यहरूसँग उठबस रहेको तथ्य भेटिएको हो । ‘मन्त्री र सचिवले नै राष्ट्रघात गर्न लागेकाले मैले नबोले कसले बोल्ने ? मैले उनीहरूको कुरा नमान्दा उर्लाबारी र ताप्लेजुङ सरुवा गरिदिए, भन्ने दाहाल यस प्रकरणका खास खेलाडी रहेको, उनका सारा सरुवा अरुको आँखामा छारो हाल्नलाई सरसल्लाहमै हुने गरेको, काठमाडौँको लक्ष्मीमार्गमा दलालहरुसँग शरणार्थीका सक्कली ढड्डाहरु आदानप्रदान गरिएको, भुटानी प्रकरणमा आफूबाहेक अरु कोही पनि विज्ञ हुँदै नभएको उनले ३२ मीनेटको अडियो संवादमा छर्लंगै स्विकारेका छन् । 

दाहाल त्यसबेला जिल्ला प्रशासन कार्यालय, झापामा शरणार्थी समन्वय अधिकृतको रुपमा शिविरको रेखदेख र अभिलेख राख्ने जिम्मेवारीमा थिए । त्यतिबेला नक्कली भुटानी शरणार्थीको फाइल सदर नगरेकै कारण गृहमन्त्री बालकृष्ण खाँणले आफूलाई सरुवा गरेको भन्दै उनले यस प्रकरणमा आफू कानुनको पक्षमा उभिएकै कारण अन्यायमा परेको दावी गर्दै आएका थिए । तर, उनै दाहाल र यस प्रकरणका बिचौलियाबीच भएको लेनदेनसहितको अडियो संवाद जनआस्थाले फेला पारेको छ । आफ्नो जिम्मेवारीको नाजायज फाइदा उठाउँदै दाहालले ‘एड भेरिफिकेशन’ मा ४२९ जनालाई नक्कली भुटानी शरणार्थी बनाएर छिराएको अडियो संवादबाट प्रष्ट बुझिन्छ । भेरिफिकेशन भन्दै गृह मन्त्रालय पठाएर उनीहरूले धमाधम नक्कली शरणार्थी खडा गरी अमेरिका पठाउने योजना रचेको अकाट्य तथ्य अडियो रेकर्डबाट खुलेको हो ।

अडियोमा दाहालले भनेका छन्,‘हाम्रोचाहिँ ११ जनाको टिम छ क्या । त्यो ४२९ जनाको एड भेरिफिकेशनमा । आज १६ सयको कुरा उठाएँ मैले, सिडियो साबले पनि उठाउनुभयो । अब त्यो २०१८ मा भेरिफिकेशन भएकोलाई किन होल्डिङ गरेको भन्ने कुरा आयो । मैले नै राज्यले दशौं–बिसौं लाख खर्च गरेको हुन्छ । त्यसैले पुरानालाई पनि रिकमेण्डेशन गर्नुपर्छ भनेँ । त्यो किन गर्नुपर्‍यो भन्ने आयो टीममा । राज्यले गरेको निर्णय हो, हामीले रिकमेण्डेशन गर्नुपर्छ भनेँ । पोजिटिभ पोइन्टचाहिँ हाम्रो पाटोलाई पनि हेर्ने कुरो भयो । अर्को बेफाइदाचाहिँ यहाँ खत्रा टिम आयो नि ४२९, यसलाई टाउको गनेर त भएन ।’ जवाफमा बिचौलिया सानु भण्डारी भन्छन्,  ‘त्यसैअनुसार त्यो ओलीले गरेकोलाई कटाएको मात्र ग्रुप हो । तपाईंले सिष्टममा जाने हो, त्यो गर्नुस् । तपाईंले जे गर भन्नुहुन्छ, त्यो मात्र गर्ने हो क्या यहाँ माथि गृहबाट ।’

३२ मीनेट लामो कुराकानीका क्रममा बिचौलियाले दाहाललाई छुटेका ४२९ जनाको नाम समावेश गरेर प्रस्ताव छिटोभन्दा छिटो गृह मन्त्रालय पठाउन आग्रह गरेको सुनिन्छ । दाहालले त्यसका लागि समय माग्दा बिचौलियाले सबै काम माथिबाट फत्ते हुने भएकाले कुनै तनाव नलिन आश्वस्त पारेका छन् । सिडिओलाई मनाउनेदेखि गृहको कामसमेत आफूले सल्टाउने आश्वासनसमेत दिएका छन् । उनले छुट शरणार्थीलाई क्याबिनेटबाट पास गराउने जिम्मासमेत आफ्नो भएको भनी प्रतिबद्धता जनाएको अडियोमा सुनिन्छ । सोही क्रममा ती बिचौलियाले भुटानी शरणार्थीका नेता टेकनाथ रिजालको नामसमेत लिएका छन् । उनले सिडियो कार्यालय, झापालाई डेढ सय जनाको नाम छुट शरणार्थीको लिष्टमा हालिदिन भन्दै सूची दिएको पनि कुराकानीकै क्रममा खुलाएका छन् ।

नासु दाहालले विवरण संकलनका लागि सिआइबी, नेपाल प्रहरीलगायत सुरक्षा निकायका कर्मचारी खटाए पनि आफ्नो काममा कुनै रुकावट नआएको पनि सगौरव बताएका छन् । १६ सयभित्र ४२९ समावेश भएको र त्यसलाई युएनले पनि सही भनिसकेकाले आफूहरू डराउनुपर्ने अवस्था नभएको भन्दै दाहालले सानु भण्डारीलाई सम्झाएको अडियोमा सुनिन्छ । भुटानी शरणार्थी समस्याको स्थायी र दीर्घकालीन समाधानका उपायहरू पहिल्याउन गठित कार्यदल–२०७६ का संयोजक बालकृष्ण पन्थीको फाइलमा आफ्नो फाइलसमेत राखेर पठाउने षड्यन्त्रसमेत दाहालले गरेको देखिन्छ । बिचौलियाले भने छुट भएकालाई क्याबिनेटमार्फत पास गराउनुपर्ने भन्दै सोहीबमोजिम प्रस्ताव गर्न दाहाललाई सल्लाह दिएका छन् ।

सरकारी ढड्डा बिचौलियाको हातमा

कानुनले सरकारी कागजात कार्यालयबाहिर लैजान रोक लगाएको छ । तर, नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूले गृह मन्त्रालयको ढड्डा दुरुपयोग गरेको पनि सोही अडियो संवादबाट प्रष्ट हुन्छ । प्रहरीको फरार सूचीमा रहेका अशोक पोखरेलले भेरिफिकेशनको सक्कली ढड्डा उडाएको प्रसंगबारे पनि उनीहरूले सगर्व बोलेका छन् । बिचौलियासँगको सो कुराकानीमा दाहालले अशोकले सरकारी ढड्डा ल्याएर आफूलाई देखाएको बताएका हुन् । पक्राउ परेका अन्य प्रतिवादीसंग पनि शरणार्थी भेरिफिकेशनको फाइल रहेको रहस्योद्घाटन भएको छ । कुरै कुरामा दाहालले ती बिचौलियालाई भनेका छन्,‘तपाईंले अशोकलाई सक्कली फाइल दिएर भेट्न पठाउनुभएको रहेछ नि !’

त्यसपछि बिचौलिया भन्छन्,‘अशोकलाई मैले कहाँ पठाउनु ? ऊसँग मेरो कुरै भएको छैन् । तपाईंको रगत खाने, मैले दिएको छैन ।’ सक्कली फाइल देखेर आफू आश्चर्यचकित बनेको दाहालको भनाइ छ । यता, बिचौलियाले अशोकको भर नपर्न र उनीमाथि विश्वास नगर्न भन्दै सम्झाईबुझाई गरेका छन् । लगानीबिना मुखले आस मानेर नहुने भन्दै बिचौलियाले अशोकको नम्बर ‘ब्ल्याक लिष्ट’ मा हालिदिन सुझाएको अडियोमा सुनिन्छ ।

दलालहरूलाई काण्ड बाहिर आउनसक्ने पहिल्यै शंका थियो

कुराकानीका क्रममा आफ्नो कर्तुत छताछुल्ल हुने त्रास उनीहरूमा देखिन्छ । आफूमाथि नै ‘फायर’ हुनसक्ने भन्दै उनीहरू सशंकित थिए । दाहाल, केशव दुलाल, सानु भण्डारी र गृहसचिव टेकनारायण पाण्डे मात्र विश्वस्त टिम भएको र अरूको विश्वास नगर्न ती बिचौलियाले भनेका छन् । त्यस्तै, अशोक पोखरेल, अनिल आचार्यलगायतको फोन पनि नउठाउन र ‘ब्ल्याक लिष्ट’ मा राखिदिन उनले दाहाललाई आग्रह गरेका छन् । ‘तपाईंले कोहीसँग नबोल्नु, भोलि तपाईं हामीलाई नै फायर हुन्छ । तपाईंले बोलिसकेको कुरा भोलि त्यसले बाहिर आउट ग¥यो भने समस्या पर्छ । त्यसकारण तपाईंले वान टु वान अघि बढ्नुपर्छ भनेपछि कुरा कसैसंग पनि नगर्नु क्या’, बिचौलियाले भनेका छन् ।

साथै, ती बिचौलियाले फोनमार्फत दाहाललाई कुरा चपाएर बोल्न सिकाइरहेका हुन्छन् । उनले आफू, दुलाल र गृहसचिव पाण्डेबाहेक अरू कसैको कुरा नसुन्न भनी सम्झाइरहेका हुन्छन् । अन्यलाई टिममा राखेपनि व्यवहारमा नराख्न र चार जनाबाहेक कसैलाई पनि आन्तरिक कुरा नखोल्न बिचौलियाले गरेको अनुरोध पनि अडियोमा छ ।

जिम्मा छुट शरणार्थी खोज्ने, काम नक्कली शरणार्थी बनाउने

शरणार्थी समन्वय अधिकृत रहँदा दाहालले अरू धेरै गैरकानुनी कार्य गरेको खुलस्त भएको छ । आफ्नो काम अन्यले गर्न नसक्ने भन्दै उनले फोनमा कुराकानी गर्दासमेत घमण्ड देखाएका छन् । र, शरणार्थीका सम्पूर्ण डिटेल दिने आश्वासन दिएका छन् । ११ जनाको टिम भएकाले आफ्नो मनोमानीअनुसार काम गर्न नपाएको भन्दै गुनासोसमेत पोखेका छन् । यताबाट बिचौलियाले उनलाई ढाढस दिँदै भनेका छन्, ‘यहाँ सुन्नु न, यो टिमलाई यहाँबाट खटाएको त हो । तपाईंले पनि अब उनीहरूको काम सकियो भन्दै माथि प्रस्ताव गरिदिनु । म यहाँ कुरा मिलाउँछु ।’ दाहालले भुटानी शरणार्थी बनाउने कार्य अघि बढाएकोमा केशव दुलालसहितको प्रशंसासमेत गरेका छन् । सरकारको कर्मचारी भएर अनैतिक कार्यमा संलग्न उनले भण्डारी र दुलालले गेम शुरु गरेकोमा गर्व लागेको सुनाएका छन् ।

सरकार परिवर्तन भए पनि आफूलाई शरणार्थी समन्वय अधिकृतबाट हटाउन नसकेको भन्दै भन्छन्, ‘टिममा मै छु । फिल्डमा को छ भन्दा मै छु । हिजो प्रस्ताव गर्ने मै हुँ, आज फाइनल भेरिफिकेशन हेर्ने पनि मै हुँ । म घमण्डका साथ के भन्छु भने राज्यले शरणार्थीको विषयमा बुझेको मान्छे टर्च लाएर खोज्दा पनि मलाई नै भेट्ने हो । अरू छैन । अर्को ल्याएर देखाओस् त ?’ नेपालले जति नै गफ दिए पनि अन्तर्राष्ट्रिय संघसंस्थाले प्रश्न उठाउने भएकाले सरकारसंग आफूबाहेक कुनै विकल्प नभएको भन्दै उनले फूर्ति लगाएका छन् ।

गृहसचिवसँग एभरेष्ट होटलको सातौं तलामा डिनर

गृहसचिव टेकनारायण पाण्डे र नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने काण्डका मुख्य योजनाकारबीच नयाँ बानेश्वरस्थित एभरेष्ट होटलको सातौं तलामा डिनर मिटिङ भएको चुरोकुरो पनि सोही कुराकानीका क्रममा छताछुल्ल भएको छ । उनीहरूले त्यतिबेलै ‘डिलिङ’ टुंग्याएको ती बिचौलियाले सुनाएका छन् ।

गृहसचिव पाण्डेले आफ्नो सबै कामको जिम्मेवारी सम्हालेको विषय पनि अडियोमा उल्लेख छ । केही कारणवश अपजस आइहालेमा दुलाल, भण्डारी, गृहसचिव पाण्डे, माथि १ नम्बर र २ नम्बर जिम्मेवार हुने सम्झौता भएको बिचौलियाको भनाइ छ । त्यस्तै, कुराकानीमा १ नम्बरलाई रिपोर्ट गर्नुपर्छ भन्ने विषयमा पनि दुईबीच छलफल भएको सुनिन्छ ।

‘बादल’ का सुरक्षा सल्लाहकारलाई साढे पाँच करोड, अरूलाई कति हो कति

तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईलाई साँढे पाँच करोड रुपैयाँ दिएको बिचौलियाले बताएका छन् । प्रधानमन्त्रीदेखि पीएसम्मलाई पैसा बुझाएको खुलस्त भनेका छन् । 

‘साढे पाँच करोड त त्यो टिमलाई मात्र गएको छ । बादल गृहमन्त्री भएको बेला, छोरोले दे भनेर उसकी बूढीलाई लगेर दिएको पैसा न हो’, बिचौलियाले भनेका छन्,‘त्यसमाथि पिएमको बेग्लै छ । टोपबहादुरजीको बेग्लै छ । अरूअरूको बेग्लै छ । हाम्रो के छ भन्ने कुरा हामीलाई न थाहा छ । परेपछि त यो कुरा बाहिर आउँछ ।’

– अनुशा थापा र शेखर बस्नेत
 

टिप्पणीहरू