सामाजिक सञ्जाल अद्यावधिक गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

सामाजिक सञ्जाल अद्यावधिक गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै सरकारी अड्डालाई सामाजिक सञ्जाल अद्यावधिक गर्न निर्देशन दिएको छ । सूचना सार्वजनिक गर्ने, नागरिकका गुनासा सम्बोधन गर्ने राज्यको नीतिअनुरुप सञ्चालन गरिएका सामाजिक सञ्जालका खाताहरुको नियमित सञ्चालन सुनिश्चितता गरी प्रयोगको अवस्थाबारे जानकारी गराउन कार्यालयले भनेको हो । 

सबै संवैधानिक आयोग, संघीय मन्त्रालय, कार्यालय, निकाय, प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई चार बुँदे पत्र पठाउँदै सामाजिक सञ्जालमा सूचनाहरु अपडेट भएको–नभएकोबारे जानकारी गराउन कार्यालयले निर्देश गरेको छ । 

‘कुन–कुन सामाजिक सञ्जालमा खाता खोलेर प्रयोग भइरहेको छ ? ट्वीटर र फेसबुकमा खोलिएको खाताको लिंक के रहेको छ ? उक्त लिंक आधिकारिक वेबसाइटमा राखिएको छ, छैन ?’, पत्रमा भनिएको छ, ‘कार्यालयका सूचनाहरु कति–कति समयमा सामाजिक सञ्जालमा अद्यावधिक भइरहेका छन्, तिनको अवस्था केकस्तो छ ? यदि अपडेट भएका छैनन् भने के कारण अपडेट हुन नसकेको हो ? जिम्मेवार व्यक्ति कसलाई तोकिएको छ र किन अद्यावधिक भएको छैन, खुलाउने ।’

त्यस्तै, सामाजिक सञ्जालका माध्यमबाट नागरिकका गुनासा सम्बोधन भए–नभएकोबारे पनि जवाफ पठाउन भनिएको छ । कार्यालयले उल्लेखित विषयमा सुधार गरी सरकारी अड्डाका विद्युतीय सञ्चालनको चुस्तताबारे आगामी साताभित्र इमेल वा हेलो सरकारको ट्वीटरमार्फत् जानकारी पठाउन अनुरोध पनि गरिएको छ ।

टिप्पणीहरू