६ पार्टीको समाजवादी मोर्चा छिट्टै घोषणा, नयाँ नेकपा बनाउने प्रधानमन्त्रीको उद्घाेष

६ पार्टीको समाजवादी मोर्चा छिट्टै घोषणा, नयाँ नेकपा बनाउने प्रधानमन्त्रीको उद्घाेष

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाजवादी क्रान्तिको तयारीका लागि समाजवादी मोर्चाको तयारी भइरहेको बताउनुभएको छ ।

नेकपा माओवादी केन्द्र, जिल्ला समन्वय समिति दाङद्वारा आयोजित अगुवा कार्यकर्ता भेलामा बोल्दै प्रधानमन्त्रीले समाजवादी मोर्चा हुँदै नयाँ नेकपासम्म पुग्ने तयारी भैरहेको जानकारी दिनुभएको हो ।

'समाजवादी क्रान्ति सिधा र सरल हुँदैन । यसले आफ्नो मौलिकता र नियमसहित बाटो लिन्छ । विचार राजनीतिमा व्यापक छलफल, ठूलो ध्रुवीकरण र एकतासहित समाजवादी क्रान्ति हुन्छ । त्यो हाम्रै पहल र हाम्रै नेतृत्व हुन्छ', प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, 'नेकपा जन्माउने विचार र प्रयोग पनि हाम्रो पहल थियो । त्यो आत्मसमर्पण र बिसर्जनको बाटो थिएन । समाजवादको आधार तयार पार्ने महान् उद्देश्यमा आधारित थियो । त्यसका लागि उक्त एकता गरिएको थियो ।'

लाखौँ जनतालाई एकतावद्ध नगरी क्रान्ति नहुने बताउनुभएका प्रधानमन्त्री प्रचण्डले समाजवादी मोर्चाको दस्तावेज टुंगाइसकेको र केही दिनमै घोषणा हुने पनि जानकारी दिनुभयो । 

'हाम्रो पार्टी, माधव नेपाल, बाबुराम भट्टराई, विप्लव, वामदेव गौतम, उपेन्द्र यादवहरूले नेतृत्व गरेका शक्तिबीच केही दिनमा समाजवादी मोर्चा घोषणा हुन्छ', उहाँले भन्नुभयो, 'तल्लो तहसम्म समाजवादी मोर्चा बन्छ । एमालेमा पनि एकताका पक्षधरहरू छन् ।उनीहरूको नेतृत्व परिवर्तन भएमा एमाले पनि एकताको पक्षमा आउँछ । त्यहाँ मुख्य नेतृत्व नै मूल रूपमा एकताको बाधक देखिन्छ ।'

त्यसक्रममा प्रधानमन्त्री प्रचण्डले क्रान्ति मौलिक र जीवन्त हुने भएकाले किताबमा लेखेजस्तो नभई जीवनमा भोगेजस्तो हुने पनि उल्लेख गर्नुभयो । 

प्रशिक्षणमा सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले सरकारले गरेका कामबाट कार्यकर्ता र जनतामा उत्साह छाएको बताउनुभएको थियो । कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री कुलप्रसाद केसी, नेताहरू दामा शर्मा, जोखबहादुर महरा लगायत उपस्थित हुनुहुन्थ्यो ।

टिप्पणीहरू