एमाले अध्यक्षले दुई घण्टा बोलेपछि अर्थमन्त्री दंग

एमाले अध्यक्षले दुई घण्टा बोलेपछि अर्थमन्त्री दंग

अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ को आय–व्ययको वार्षिक अनुमानमाथि संसदमा भएको बहसले आफूलाई हौसला दिएको बताउनुभएको छ । आज प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले उक्त जानकारी दिनुभएको हो ।

बजेटमाथिको छलफलमा एक सय ५० जना सांसद सहभागी भएका थिए । त्यसमध्ये प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीले करिब दुई घण्टा समय लिएर बजेटमा टिप्पणी गर्नुभएको थियो । यसलाई अर्थमन्त्री महतले सकारात्मक रुपमा लिएको बताउनुभयो । 

सांसदहरुको बहसले मिलेको हौसलाले अर्जुनदृष्टिका साथ काम गर्ने प्रेरणा मिलेको उल्लेख गर्दै अर्थमन्त्री महतले बजेटमा महत्वपूर्ण कुरा रहेको ओलीले लिएको समयले पुष्टि भएको धारणा राख्नुभयो । 

‘विपक्षी दलका नेता केपी शर्मा ओलीले मैले प्रस्तुत गरेको तीन घण्टाको प्रस्तुतीमा उहाँले दुई घण्टा आफ्नो कुराहरू राख्नुभयो । यसबाट मैले के महशुस गरेको छु भने यो बजेटमा केही महत्वपूर्ण कुरा छन् । यसले केही नयाँ कुरालाई अगाडि बढाउन कोशिस गरेको छ’, अर्थमन्त्रीले भन्नुभयो, ‘होइन भने स्वयम् विपक्षी दलको नेता उभिएर दुई दुई घण्टा समय दिनुहुन्नथ्यो । त्यस अर्थमा मलाई खुशी लागेको छ ।’

टिप्पणीहरू