श्रीमानहरु अकस्मात किन हुन्छन् सिकिस्त ?

श्रीमानहरु अकस्मात किन हुन्छन् सिकिस्त ?

अदालतको अचम्म, जब कुनै ‘हाइप्रोफाइल’ मुद्दा आउँछ, तब वकिलको लर्को लाग्छ, न्यायाधीशको चाहिँ भागाभाग हुन्छ । नक्कली भूटानी प्रकरणको थुनछेक बहसनिम्ति जिल्ला अदालत काठमाडौंमा गोला तान्ने दिन १ नम्बरका राजकुमार खतिवडा र दिपकुमार खरेल, दिपक खनालसहित  ११ जना न्यायाधीश अनुपस्थित भए । 

मुद्दा आफ्नोमा पर्ला र फसिएला भनेर ती श्रीमान् बिरामीको बहानामा बिदा बसेका हुन् । यससँगै प्रश्न उठ्छ, न्यायाधीशले न्याय र देशको इज्जत हेर्ने कि पद, शक्ति र ठूला वकिलको ताँती अनि आफ्नो कुर्सी हेर्ने ? यो मुद्दाका प्रतिवादी त्यस्ता व्यक्ति हुन्, जो आफ्नो देशका नागरिकलाई गैरनागरिक बनाउने काममा संलग्न छन् । त्यसका लागि गाई–भैंसी किनेजस्तो पैसाको कारोबार भएको छ ।

यो बेथिति जिल्लामा त्यसै आएको हैन, शुरु भएको सर्वोच्चबाटै हो । सर्वोच्चमा मुद्दाको चाङ बढ्दा १६ मध्ये प्रधानन्यायाधीशसहित ७ जना न्यायाधीश छुट्टीमा बस्छन् । आइतबार नागरिकता विधेयक र केही दिनअघि रेशम चौधरीको मुद्दा हेर्नुपर्छ भनेर पनि श्रीमानहरु यसरी नै छलिए । यही हप्ता केपी ओलीद्वारा संवैधानिक पदहरुमा नियुक्त ५२ भाइको मुद्दाको पनि पेशी छ र यही बेला निरीक्षणको नाममा विश्वम्भर श्रेष्ठ नेपालगञ्ज, हरि फुयाँल धनकुटासहित आधीभन्दा बढी सर्वोच्चका  श्रीमानहरुले राजधानी छाडेका छन् । 

सर्वोच्चतिर झैं जिल्ला अदालतमा पनि गोलाप्रथा शुरु भएपछिको विसंगति हो, फैसलामा कमी आउनु र न्यायाधीश भाग्न थाल्नु । जस्तो कि, क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा कार्यान्वयन नहुने आदेश दिएर पटक–पटक पन्छिने काम भएको छ । पहिला जिल्लामा रोजे–रोजेका मुद्दा हेर्न पाइन्थ्यो र त्यसबाट भने–भनेजति दाम–काम निस्किन्थ्यो । अब गोलाप्रथा भएपछि न मुद्दा रोज्न पाइने, न जस पाइने अवस्था छ !

कुनै जनहित र सत्कर्मका लागि हैन, मान्छेलाई नक्कली भूटानी बनाएर अमेरिका पैठारी गर्ने गिरोह बचाउन अहिले काठमाडौं जिल्ला अदालतमा १ सय ७ जना वकिलको लर्को लागेको छ । 
त्यसो त जिउँदा मान्छेलाई इँट्टा भट्टामा पोलेर मार्ने मोहम्मद आफ्ताब आलमका पक्षमा कैयौं प्रतिष्ठित कानुन व्यवसायीको लर्को हेरिकन यो सामान्य विषय नै हो । किनभने, यिनले मान्छे नै मारेका त हैनन् । 

आइतबारदेखि काठमाडौं जिल्ला अदालतमा शुरु भएको थुनछेक बहसमा १८ प्रतिवादीका तर्फबाट कैयौं कानुन व्यवसायीले आ–आफ्ना दलिल पेश गर्दैछन् । त्यसका लागि १ सय ७ वकिलले नाम टिपाएका छन् । पूर्वगृहमन्त्री बालकृष्ण खाँणको तर्फबाट बहसका लागि सबैभन्दा धेरै २४ वकिल तयार छन् । खाँणको निम्ति जितेन्द्रबहादुर पाण्डे, प्रा.डा. नृसिंहकुमार खत्री, शेरबहादुर देउवाको पालाका महान्यायाधिवक्ता खम्बबहादुर खाति, मंगलसुन्दर शिल्पकार, जनकराज श्रेष्ठ, अनु भट्टराई, शेरबहादुर केसी, रमण श्रेष्ठ, हरिहर दाहाल, महादेव यादव, प्रेमबहादुर खड्का, गोपालकृष्ण घिमिरे, पंकज कर्ण, ललितबहादुर बस्नेतलगायतले बहस गर्नेछन् । त्यस्तै, निर्जा चापागाईं, केशरमणि अर्याल, अञ्जु रेग्मी अर्याल, देबबहादुर महत, पुरुषोत्तम अधिकारी, विश्वनाथ खनाल, यज्ञराज पोखरेल, सुरेन्द्र महतो, योगेन्द्रबहादुर अधिकारीले पनि नाम टिपाएका छन् । 

भूटानी मानवअधिकारवादी नेता टेकनाथ रिजालका पक्षमा बहस गर्न १५ जनाको सूचि तयार छ । उनका पक्षमा श्यामबाबु केसी, प्रतिमा भट्टराई, डा. राजेन्द्र घिमिरे, अनिलकुमार लाल, डा. हिरा कार्की, राजेन्द्र पोखरेल लगायतले नाम टिपाएका छन् । हरिभक्त महर्जनका दुई, केशव दुलालका सात, समशेर मियाँका एक, सचिव टेकनारायण पाण्डेका पाँच, नरेन्द्र केसीका तीन, सन्दिप रायमाझीका चार, टोपबहादुर रायमाझीका १२, इन्द्रजीत राईका चार, आङटावा शेर्पाका दुई, गोविन्द चौधरीका तीन वकिल बहसका लागि तयार छन् ।

तर, पीडितको तर्फबाट बहस गर्न जाने वकिल देखिएका छैनन् । पीडित संख्या हजारमध्ये १ सय १३ जनाको जाहेरी परेको छ । तीमध्ये कोही न कोहीले वकिल राख्नुपर्ने हो, तर अदालतमा तिनको उपस्थिति देखिँदैन । जबकि, सबैका हकमा आफ्नो कानुन व्यवसायी राख्न पाउने सुविधा हुन्छ । कानुनी प्रतिनिधित्व हुनुपर्छ भन्ने  प्राकृतिक न्यायको सिद्धान्त हो । प्रत्येक अदालतमा एक जना वैतनिक वकिल हुन्छन् । उनले कसैको पक्षमा बहस गर्छु वा गर्दिनँ भन्न पाइँदैन । बाहिरका वकिल स्वतन्त्र हुन्छन् र तिनलाई बहस गर्छु र गर्दिनँ भन्न पाइन्छ । तर, कसैले केही गरी कानुन व्यवसायी नियुक्त गर्न पाएन भने अदालतको वैतनिक कानुन व्यवसायीलाई तोक्न पाइन्छ । यहाँ त कस्तो भने, अपराधको पनि दलीय आवरण हुन्छ भनेझैं † बालकृष्णको पक्षमा सबै कांग्रेसका वकिल छन्, टोपबहादुरका प्रायः एमाले । 

टेकनारायण पाण्डेको तर्फबाट वकिलहरू राम घिमिरे, रमण श्रेष्ठ, जगत जोशी, पूर्व एसएसपी गणेश रेग्मीले नाम लेखाएका छन् । टोपबहादुर रायमाझीका निम्ति अख्तियारमा लोकमान कार्यकाल हुँदा जग्जगी मच्चाएकी आकृति रायमाझीदेखि महान्यायाधिवक्ता सुशीलकुमार पन्त, उनका छोरा सुविज्ञ पन्त, केपी ओलीका महान्यायाधिवक्ता रमेश बडाल, रामचन्द्र सुवेदी, धर्मराज जोशी, पर्शुराम कोइराला, ज्ञानेश्वर पराजुलीले बहस गर्ने भएका छन् । त्यस्तै, शोभादेवी पौडेल, ज्ञानेश्वर पराजुली, पुष्पराज पौडेल, करुणाकर मल्लिक पनि छन् । यसमध्ये आकृति दलीय संलग्नता नखुलेकी व्यक्ति हुन् भने पर्शुराम कांग्रेसनिकटका हुन् ।
 

टिप्पणीहरू