विदेशबाट फर्किएका माओवादी कार्यकर्ताको राष्ट्रिय भेला सम्पन्न

विदेशबाट फर्किएका माओवादी कार्यकर्ताको राष्ट्रिय भेला सम्पन्न

नेकपा माओवादी केन्द्रको कान्छो जनसंगठन रिटर्नी सेन्टर नेपालले पहिलो राष्ट्रिय भेला गरेको छ । वैदेशिक रोजगारीबाट फर्किएका माओवादी समर्थकहरुलाई एकतावद्ध गर्ने उद्धेश्यले गठित रिटर्नी सेन्टरले देशभरबाट प्रतिनिधि सहभागी गराएर आज राष्ट्रिय भेला गरेको हो ।   

भेलाले देवेन्द्र तुम्बाहाम्फेको संयोजकत्वमा ९९ सदस्सीय केन्द्रीय समितिसमेत घोषणा गरेको छ । यसअघि माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्धघाटन गर्नुभएको भेलालाई सो पार्टीका शीर्ष नेताहरुले सम्बोधन गरेका थिए । 

भेलामा बोल्दै प्रधानमन्त्री प्रचण्डले सरकारले उत्पादनमा जोड दिएकाले वैदेशिक रोजगारीबाट फर्किएका युवाहरु त्यसबाट लाभान्वित हुनसक्ने बताउनुभयो । विदेशमा सिकेको सीप र प्राप्त पूँजीलाई स्वदेशमा लगानी गर्दै आत्मनिर्भर बन्नका लागि सरकार र पार्टीका तर्फबाट सहयोग गर्ने उहाँको प्रतिवद्धता छ । त्यसका लागि रिटर्नी सेन्टरले पनि सकारात्मक भूमिका निर्वाह गर्ने प्रधानमन्त्री प्रचण्डले विश्वास व्यक्त गर्नुभयो । 

विदेशबाट फर्किएकाहरूलाई संगठित गरी आत्मनिर्भर बनाउन लागेकोमा उहाँले रिटर्नी सेन्टरलाई धन्यवादसमेत दिनुभयो । उत्पादन र रोजगारीमा जोडिएर सुशासन, सामाजिक न्याय र समृद्धीका लागि सरकारले अघि सारेको नीति तथा कार्यक्रममा रिटर्नी नेपाल सहयोगी बन्ने प्रधानमन्त्रीले विश्वास जनाउनुभयो । 

सम्बोधनका क्रममा प्रधानमन्त्री प्रचण्डले विगतका अनुभवबाट शिक्षा लिएर यसपटक सिधै किसानको हातमा अनुदान दिने नीति लिएको जानकारी पनि दिनुभयो । सरकारले उत्पादनमा जोड दिँदै ७५३ वटै स्थानीय तहमार्फत किसानलाई सोझै रकम पुर्याउने नीतिगत व्यवस्था सरकारले गरेको र विदेशबाट फर्किएर देशमै स्वरोजगार हुन चाहाने युवाहरु लाभान्वित हुने उहाँको विश्वास छ । 

वैदेशिक रोजगारमा मृत्यु भएका अंगभंग भएकाहरुको परिवारका लागि स्वास्थ शिक्षा रोजगारीमा सरकारले अभिभावकत्व खेल्ने पनि प्रधानमन्त्रीले प्रतिवद्धता जनाउनुभएको छ । 

भेलालाई माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरूङ, उपमहासचिव जनार्दन शर्मा, रिटर्नी माईग्रेन्ट नेपालका अध्यक्ष लक्ष्मीप्रसाद आचार्यलगायतले सम्बोधन गरेका थिए ।

टिप्पणीहरू