फौजीहरु किन बित्छन् फुतुफुतु

फौजीहरु किन बित्छन् फुतुफुतु

चाकडीको हद र सरकारी स्रोत दुरुपयोगको नमुना एकैचोटि देखिएको छ, एक दुर्घटनामा । 

उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काकी भाइ बुहारी डा.सञ्जुको सडक दुर्घटनामा गत हप्ता निधन भयो । पूर्णबहादुरकै सहयोगमा बढुवा पाएका एक गुप्तचर हाकिम काम–धन्दा छाडेर समवेदना दिन काठमाडौंबाट सीधै सुर्खेत हान्निए । उनी हुन्, राष्ट्रिय अनुसन्धान विभागका एआइजी (अतिरिक्त मुख्य अनुसन्धान निर्देशक) टेकेन्द्र कार्की ।

प्रादेशिक अस्पताल सुर्खेतका निर्देशक डा. डम्बर खड्काकी पत्नी थिइन्, डा. सञ्जु । पति विश्व स्वास्थ्य संगठनको ७६ औं महासभामा भाग लिन जेनेभा गएको बेला सशस्त्रका सवारी चालक (हवल्दार) सुवास अधिकारीसहित सञ्जु आफू कार्यरत अस्पताल बुटवलबाट निजी गाडीमा रारा घुम्न निस्किएकी थिइन् । उनको निधन आफैंमा दुःखद खबर हो । यद्यपि, त्यससँग जोडिएको दुरुपयोगको पाटो भने चर्चालायकको छ । राज्यका बर्दिधारीलाई सर्वसाधारण वा फरक क्षेत्रका पेशाकर्मीको सेवार्थ चालकका रुपमा खटाइनु मिल्दो कुरा होइन ।

राष्ट्रसेवक सुरक्षाकर्मीले कर्तव्य पालनाको सिलसिलामा ज्यान गुमाउँदा तिनका परिवारले निश्चित सेवा–सुविधा पाउँछन् । तर, सुवास साँचो अर्थमा संगठनबाट कर्तव्य पालनाका निम्ति खटाइएका थिएनन् । यसमा पनि फेरि दुरुपयोगकै प्रसंग आउँछ । अब प्रमुख जिल्ला अधिकारीले एउटा सिफारिसमा सही गरी कर्तव्य पालनाकै सिलसिलामा निधन भएको पत्र बनाएपछि उनी सशस्त्रको अमर प्रहरीका रुपमा सूचीकृत हुन्छन् । त्यसो त एउटा गरिवको छोरा मर्दा परिवारले सुविधा पाउनेमा कसैले रिस गर्ने कुरा भएन । तर, सुरक्षाकर्मीको दुरुपयोग कसरी भइरहेको छ भन्ने यसबाट पनि झल्किन्छ । जेठ १६ गते, मंगलबार पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिका– ८ मुगुवा खोलानजिकै पूर्वतर्फ जाँदै गरेको मे १ ख ३३३५ नम्बरको बस र पश्चिमतर्फ जाँदै गरेको बा १३ च ८२५३ नम्बरको कार एकआपसमा ठोक्किँदा कारमा सवार डा.सञ्जु र चालक अधिकारीले ज्यान गुमाएका थिए । 

यो दुःखद् घटनाले खड्का परिवार पीडामा परिरहँदा घटनासँग जोडिएका तीनखाले दुरुपयोगको पनि चर्चा भइरहेको छ । गुप्तचरका एआइजीले यही शोकलाई चाकडीको मेलो बनाउनु । सशस्त्रले निर्णयबेगर हवल्दारलाई निजी सवारी चलाउन खटाउनु र प्रजिअले त्यही कुरालाई ‘कर्तव्य पालना’ भनी कागज तयार पार्नु । उता, गुप्तचरको मधेस प्रदेशका प्रमुख प्रमेश हमाल मुख्यालयस्थित अपरेशनमा तानिएका छन् भने उनको ठाउँमा मधेसीमूलकै सञ्जय यादवलाई पठाइएको छ । 
 

टिप्पणीहरू