ज्वाइँले ५० हजारमा ३० कठ्ठा जग्गा पास गरेको खुलासा
ज्वाइँले षड्यन्त्र गरेर जग्गा हडप्दा ज्यान गुमाएका मुक्तिनाथ साहबारे समाचार भाइरल भएपछि तिनै मुक्तिनाथको जग्गा साहुले ५० हजार रूपैयाँमा हड्पेको रहस्य खुलेको छ ।
मुक्तिनाथकी छोरी रितादेवी साहले पत्रकार सम्मेलन गरेर श्रीमानको सट्टा साहुले ५० हजार रूपैयाँमा पिता मुक्तिनाथको जग्गा आफ्नो नाममा पास गरेको बताएकी छन् । धनगढीमाई नगरपालिका– १० का ईन्द्रदेव साहले १५ वर्षअघि ५० हजार रूपैयाँ दिएर लक्ष्मीपुर पतारी– ४, ब्रम्हपुरीका मुक्तिनाथको ३० कठ्ठा जग्गा आफ्नो नाममा पास गरेको बताइएको छ ।
जग्गा पास गर्दा साक्षीको रुपमा मुक्तिनाथका ज्वाइँ रामकुमार साह बसेका थिए । कौडीको भाउमा जग्गा गुमाउनुपर्दा मानसिक रोगी बनेका मुक्तिनाथको ६१ वर्षको उमेरमा निधन भएको परिवारजनले बताउँदै आएका छन् ।
ज्वाइँ रामकुमारले ससुराको जग्गाको विषयमा आफू अनभिज्ञ रहेको बताए । ससुरालीसँग उल्टै आफुले घरखर्चका लागि दिएको सापट पैसा लिन बाँकी रहेको जानकारी गराए । ‘ अनाहकमा मलाई विवादमा तान्ने प्रयास गरियो,’ रामकुमारले भने ।
जानकारहरूका अनुसार ईन्द्रदेवले ५० हजार रूपैयाँमा जालसाजी गरेर मुक्तिनाथको जग्गा आफ्नो नाममा पास गराएका थिए । तर ईन्द्रदेवले पूरा रकम दिएर मुक्तिनाथसँग उक्त जग्गा किनेको दाबी गर्दै आएका छन् । धेरै समय भएकाले कति रकममा उक्त जग्गा किनेको विषय बिर्सेको बताउँदै भने, ‘ कतिमा किनेको हो भनेर कागजपत्र हेर्नुपर्छ ।’
तर मुक्तिनाथका तीन भाइ छोराले आफूहरू घरमा नभएको मौका छोपेर भिनाजु रामकुमारको बहकाउमा लागेर बुवाले १५ वर्षअगाडि जग्गा ईन्द्रदेवको नाममा पास गरिदिएको बताउँदै आएका छन् । तर अहिले जग्गा फिर्ता गर्न ईन्द्रदेवले मोटो रकम मागेको उनीहरुको भनाई छ । यसबारे जिल्ला प्रशासन कार्यालयमा मीटरब्याजको उजुरी समेत दर्ता गराएको मुक्तिनाथका छोराहरुले उल्लेख गरे ।
माईला छोरा गणेशनारायण साह चौधरीले भने, ‘बुवालाई गुमराहमा राखेर हडपिएको डेढ बिगाहा जग्गा जसरी पनि फिर्ता गराएरै छाड्ने छौँ । यसका लागि हामी कानुनी लडाईं लडिरहेका छौं ।’ तर ईन्द्रदेवले ३० कठ््ठामध्ये १५ कठ्ठा जग्गा अरूलाई नै बेचिसकेको सिरहा मालपोतले जानकारी दिएको छ ।
जीवन बीमा कम्पनीका स्थानीय एजेन्ट ईन्द्रदेवले जालसाजी गरेर धेरैको जग्गा हत्याएको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता भएको प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले बताए । १२ हजारबढी मीटरब्याज सम्बन्धी उजुरी दर्ता भएको जानकारी दिँदै प्रमुख जिल्ला अधिकारी खतिवडाले भने, ‘दोषीमाथि कारबाहीको डण्डा चल्नेछ ।’
टिप्पणीहरू