माइतीघरमा पूर्वराष्ट्रपतिमाथि कारवाहीको माग, 'रवि लामिछाने मूर्दावाद' लेखिएको प्लेकार्ड देखाइयो
नागरिकताविहीन संघर्ष समितिले काठमाडौँमा विरोध प्रदर्शन गरेको छ ।
राष्ट्रपतिबाट प्रमाणीकरण भई ऐनका रुपमा कार्यान्वयनमा गैसकेको नागरिकता विधेयक सर्वोच्च अदालतले तत्काल लागू नगर्न आदेश दिएपछि तराइ-मधेस केन्द्रित आन्दोलन गरिरहेको संघर्ष समितिले आज काठमाडौँको माइतीघरमा प्रदर्शन गरेको हो ।
त्यसक्रममा प्रदर्शनकारीहरुले आफूहरुलाई वर्षौँदेखि अनागरिक बनाइएको भन्दै चर्को आक्रोश पोखे । उनीहरुले नागरिकतासम्बन्धी प्रावधान समेटिएको कानुनको पूर्ण पालना गर्न पनि माग गरेका छन् ।
प्रदर्शनकारीहरुले 'नागरिकता विधेयक कार्यान्वयन गर', आमा नेपाली बुबा नेपाली हामी चैं कहाँको?', पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई कारवाही गर', 'आमाको नामबाट नागरिकता दे', रवि लामिछाने, सुरेन्द्र भण्डारी, बालकृष्ण न्यौपाने मूर्दावाद' लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

तत्कालीन राष्ट्रपति भण्डारीले दुई पटकसम्म रोकेको नागरिकता विधेयक हालका राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आग्रहमा यही जेठ १७ गते प्रमाणीकरण गरेका थिए । विधेयक प्रमाणीकरण गरेकोमा प्रमुख प्रतिपक्ष एमाले, रवि लामिछानेको रास्वपा र पूर्वपञ्चहरुको पार्टी राप्रपालगायतले विरोध गरिरहेका छन् । संसद्लाई छलेर राष्ट्रपतिले असंवैधानिक कदम चालेको उनीहरुको आरोप छ ।
विधेयक प्रमाणीकरण खारेज गर्न माग गर्दै अधिवक्ताद्वय सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपाने सर्वोच्च अदालतमा रिट हालेका थिए । सर्वोच्चले उनीहरुको माग अनुसार नै अन्तरिम आदेश दिएपछि ऐनमा रुपान्तरण भैसकेको विधेयक पुरानै अवस्थामा पुगेको छ ।

त्यसविरुद्ध वर्षौँदेखि नागरिकता नपाएका जन्मसिद्धका सन्तानहरु आन्दोलित भएका हुन् । आमा र बाबु दुवै नेपाली भएर पनि नागरिकता नपाउनेको संख्या झन्डै १२ लाख रहेको अनुमान छ ।










टिप्पणीहरू