ग्राहकको खाताबाट डेढ करोड चोरी प्रकरणमा अनुसन्धान सकियो, मुद्दा चलाउने तयारी

ग्राहकको खाताबाट डेढ करोड चोरी प्रकरणमा अनुसन्धान सकियो, मुद्दा चलाउने तयारी

एभरेष्ट बैंकको इटहरी शाखामा भएको रकम चोरी प्रकरणमा प्रहरीले अनुसन्धान सकाएको छ । जिल्ला प्रहरी कार्यालय, सुनसरीले अनुसन्धान पूरा गरी रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय, सुनसरीमा बुझाएको हो । 

प्रहरीले बैंकिङ्ग कसूर र सट्टेबाजी कसूरमा मुद्दा दायर गर्न सुझाव दिएको छ । घटनाका मुख्य योजनाकार तत्कालीन इटहरी शाखाका अपरेशन हेड निरज प्रधान रहेको प्रहरीले जनाएको छ । त्यस्तै, बैंकका सात जना र अन्य तीन जना गरी १० जनाविरुद्ध मुद्दा चलाउन सुझाइएको छ । 

निरज केही समय अघिमात्र इटहरीबाट उदयपुरको गाईघाटमा सरुवा भएका थिए । ग्राहकको खाताबाट रकम झिकिएको उजुरी परेपछि चैत २२ गते उनलाई सुनसरी प्रहरीले नियन्त्रणमा लिएको थियो । शुरुमा ५५ लाख रुपैयाँ ग्राहकको खाताबाट झिकिएको अनुसन्धानको क्रममा खुलेको छ । 

प्रहरीका अनुसार उनले बचतकर्ताको खाताबाट पैसा आफ्ना आफन्त र अन्य चिनेजानेका व्यक्तिको खातामा पठाएर ठगी गर्ने गरेका थिए । उनको यसखाले हर्कतको सूचना प्रहरीमा पुगेपछि खोजतलास अघि बढाइएको थियो । सो क्रममा बैंकका अन्य कर्मचारीसमेत पक्राउ परेका हुन् । 

पक्राउ पर्नेमा बैंकका गाईंघाट शाखाका अपरेशन ईञ्चार्ज निरजसहित इटहरी शाखाका प्रबन्धक विश्वराज शाक्य, दाबा लामा, मनोज घिमिरे, देवराज घिमिरे, रञ्जित पण्डित, पवित्रा कटुवाल, शंकर भुजेल र अजय खिउँजु रहेका छन् । 

‘पक्राउ पर्नेमा बैंकका शाखा प्रमुखदेखि टेलरसम्मका कर्मचारी रहेका छन् । लामो समयदेखि उनीहरुले ठगीधन्दा चलाउँदै आएको पाइएको छ । उनीहरुले संगठित रुपमा ठगी गरेका हुन् । हामीले सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाइसकेका छौं’, एक प्रहरी अधिकृतले भने । 

उनीहरुले अहिलेसम्म ३३ जना ग्राहकको खाताबाट एक करोड ५० लाख २३ हजार ४३४ रुपैयाँ निकालेको पाइएको छ । एउटै व्यक्तिको खाताबाट सात लाख रुपैयाँसम्म झिकेको प्रहरीले बताएको छ । 

निरजले ग्राहकको खाताबाट निकालेको रकम सट्टेबाजीमा सिद्धयाएको प्रहरीको भनाइ छ । गत मंसिरमा कतारमा भएको विश्वकप फुटबलमा उनले सट्टेबाजी गरेर पैसा सकाएका हुन् । बैंकको सिस्टमको दुरुपयोग गरी इनएक्टिभ खातालाई एक्टिभ गरी रकम झिकेका उनीहरुमाथि अरु मुुद्दा आकर्षित भएको खण्डमा चलाउनसमेत प्रहरीले सुझाएको छ ।

 

टिप्पणीहरू