एमालेको अवरोधले संसद बैठक अवरुद्ध

एमालेको अवरोधले संसद बैठक अवरुद्ध

प्रमुख प्रतिपक्ष नेकपा एमालेको अवरोधका कारण आज बसेको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्रीको भारत भ्रमणको विषयलाई लिएर एमालेसहित प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाका सांसदहरुले संसद चल्न नदिएपछि बैठक स्थगित गरिएको हो । सभामुख देवराज घिमिरेले आजै एक घण्टापछि पुन: बस्नेगरी बैठक स्थगित गरेको जानकारी गराउनुभयो । 

यसअघि आजको बैठक सुरु भए लगतै एमाले, रास्वपा र राप्रपाका सांसदहरुले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख घिमिरेले एमाले प्रमुख सचेतक पदम गिरीलाई बोल्न समय दिनुभयो । गिरीले निष्क्रिय भइसकेको विधेयकलाई असंवैधानिक ढंगले प्रमाणीकरण गरको भन्दै आपत्ति जनाए । यो विधेयकलाई फेरि निश्क्रिय राखेर संसदमा अर्को नयाँ विधेयक ल्याउनुपर्ने उनले माग गरेका छन् ।

प्राधनमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा उनले वंगलादेशको फूलवारी बन्दरगाह प्राप्त गर्न कालापानी दिने आशयको अभिव्यक्ति दिएको भन्दै गिरीले चर्को आपत्ति जनाए । यसमा प्रधानमन्त्रीले संसदमा आएर माफी माग्नुपर्ने, नभए संसद चल्न नसक्ने उनले आफ्नो दलको अडान सुनाए ।

त्यस्तै, रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले पनि नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रिया गलत भएको बताए भने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रपति संस्थालाई सत्ता स्वार्थका लागि दुरुपयोग गरिएको भन्दै आक्रोश पोखे ।

सभामुखले पटक-पटक बैठक सूचारु गर्न आग्रह गरेपनि प्रतिपक्षी सांसदहरुले नारावाजी गरिरहेपछि एक घण्टाका लागि संसद स्थगित गरिएको हो ।

 

टिप्पणीहरू