करोडौं रुपैयाँ बोकेका मेयर भागे कहाँ ?

करोडौं रुपैयाँ बोकेका मेयर भागे कहाँ ?

बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली बेपत्ता भएको दुई साता बितिसकेको छ । ईमेज बचत तथा ऋण सहकारीका संस्था लिमिटेडका अध्यक्षसमेत रहेका नेपाली सयौं बचतकर्ताको करोडौं रुपैयाँ अपचलन गरेर रातारात टाप कसेपछि बचतकर्ताहरु तनावमा छन् । 

बागलुङ नगरपालिका, गलकोट नगरपालिका, ढोरपाटन नगरपालिका र कास्कीको पोखरा गरी चार ठाउँमा सहकारी सञ्चालन गर्दै आएका उनी परिवारसहित एकाएक बेपत्ता भएका थिए । बचतकर्ताले खाइनखाई जम्मा गरेको पैसा फिर्ता गर्न नसकेपछि अध्यक्ष नेपालीले पछिल्ला दिनमा विभिन्न बहानामा सर्वसाधारणलाई भुलाउँदै आएका थिए । आफ्नो जायजेथा बेचेर भएपनि बचतकर्ताको निक्षेप फिर्ता दिने उद्घोष गर्दै आएका मेयर आफैँ रातारात भागेपछि सयौं सर्वसाधारण बिचल्लीमा परेका हुन् । 

ढोरपाटन नगरपालिकाका मेयरका रुपमा दोस्रो कार्यकाल सम्हालिरहेका उनले गत पुसमा भएको सहकारीको साधारणसभामा भनेका थिए, ‘तपाईंहरुलाई आफ्नो बचत चाहिन्छ भने दुई घण्टा लाइनमा बस्नुस् । सबै रकम फिर्ता गर्न सक्छु ।’ उनले सार्वजनिक रुपमै यस्तो अभिव्यक्ति दिएपछि बचतकर्ताहरु ढुक्क भएका थिए । 

वैशाख ९ गते सहकारीको मूलढोकामा सूचना टाँसेर उनले सबै रकम कुम्ल्याएको पीडितहरुको आरोप छ । उठेको रकम झ्वाम पार्नकै लागि उनले सहकारी बन्द गरेको एकजना पीडित बताउँछन् । 

आफूलाई गरिब तथा विपन्न वर्गको ‘भगवान’ भन्ने नेपालीले सयौं बचतकर्ताको मेहनतको कमाइ पचाइदिएका छन् । रकम डुब्दासमेत कुनै निकायबाट सहयोग पाउन नसकेको गुनासो लिएर गृह मन्त्रालय, सहकारी विभाग र केन्द्रीय अनुसन्धान ब्यूरोमा पुगेपछि मात्र छानबिन प्रक्रिया अघि बढेको पीडितहरुको भनाइ छ । 

ती पीडितले आफ्नो पीडा सुनाउँदै भने, ‘जनप्रतिनिधिलाई कसले चिन्दैन ? तर, यत्रो दिन बितिसक्दा पनि उनी कारबाहीको दायरामा आउन सकेका छैनन् । हामीले छोराछोरीका लागि भनेर खाइनखाई राखेको पैसा डुब्यो । अहिले सबैतिर अन्धकार भएजस्तो महशुस भएको छ ।’

बागलुङ प्रहरीकै सहयोगमा उनी उम्किन सफल भएको पीडितहरुको आरोप छ । स्थानीय सरकारका प्रमुखले सहकारी संरक्षण गर्नुको साटो बचतकर्ताको निक्षेप लिएर भाग्नु लज्जास्पद विषय हो । 

सरकार भनेर कसैमाथि पनि विश्वास गर्न नहुने भन्दै यतिखेर जिल्लामा बहस चलेको छ । यता, नेकपा एमालेको गण्डकी प्रदेश कमिटीले नेपालीलाई पार्टीबाट निष्काशन गरेर आफू पन्छिने चलखेल गरेको पीडितहरु बताउँछन् ।

 

टिप्पणीहरू