सीमा समस्या समाधानमा इच्छा राखेका मोदीको इपिजीमा अनिच्छा

सीमा समस्या समाधानमा इच्छा राखेका मोदीको इपिजीमा अनिच्छा

भारतले नेपाल–भारत सीमा, सन्धि–सम्झौतालगायत विषयमा विज्ञहरुको सुझावसहितको इपिजी रिपोर्टका सम्बन्धमा यसपटक पनि आलटाल गरेर पन्छाइदिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको एक महत्वपूर्ण एजेण्डा ठानिएको इपिजी रिपोर्टले छलफलमा प्रवेश नै पाएन । 

नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (ईपीजी) प्रतिवेदनबारे प्रधानमन्त्रीस्तरमा कुराकानी नभएको त्यहाँका विदेश सचिव विनयमोहन क्वात्राले बताएका छन् । 

प्रधानमन्त्री प्रचण्ड र उहाँका समकक्षी नरेन्द्र मोदीबीच हैदरावाद हाउसमा शुरुमा वान टु वान र लगत्तै प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता भएको थियो । त्यसपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा पनि इपिजी रिपोर्टबारे दुबै पक्षबाट कुनै जानकारी गराइएन । 

छ वर्षअघि दुवै देशका विज्ञहरु सम्मिलित समूहले १९५० को शान्ति तथा मैत्री सन्धिसहित नेपाल–भारतबीच भएका दुई पक्षीय सन्धि–सम्झौता पुनरावलोकनलगायत विषयमा सुझावसहितको संयुक्त रिपोर्ट तयार पारेर दुवै देशका प्रधानमन्त्रीलाई बुझाउने भनिएको थियो । तर, भारतले यसलाई विभिन्न बहानामा आलटाल गर्दै आएको छ ।

इपिजी रिपोर्ट स्वीकार गर्न नचाहेका मोदीले सीमा विवाद समाधान गर्न भने भारत तयार रहेको बताउनुभएको छ । संयुक्त पत्रकार सम्मेलनमा उहाँले दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउन सीमालगायतका सबै समस्या समाधान गरिने प्रतिबद्धता जनाउनुभएको हो ।

टिप्पणीहरू