बचतकर्ताको करोडौं रकम हिनामिना गरेको आरोपमा ६ जना पक्राउ

बचतकर्ताको करोडौं रकम हिनामिना गरेको आरोपमा ६ जना पक्राउ

बचतकर्ताले बचत गरेको करोडौं रकम हिनामिना गरेको आरोपमा काठमाडौंको बुढानिलकण्ठस्थित एक सहकारी संस्थाका कार्यकारी अध्यक्षसहित छ जना पक्राउ परेका छन् । 

बुढानिलकण्ठ नगरपालिका-९ मा रहेको एकता बृद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा बचतकर्ताको ८ करोड १८ लाख ८९ हजार ७ सय ९५ रुपैयाँ हिनामिना गरेको आरोपमा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरुमा सोही नगरपालिकाका ७२ वर्षीय भानुकुमार शर्मा, ६७ वर्षीय प्रमोदकुमार न्यौपाने, ५० वर्षीय सोमलाल श्रेष्ठ, ५२ वर्षीय वीरबहादुर तामाङ, ५८ वर्षीय रामकुमार श्रेष्ठ र सोही नगरपालिका–८ का ३४ वर्षीय शम्भु कार्की रहेका छन् ।

आफूहरुले मुद्दती तथा बचत खातामा जम्मा गरेको करोडौं रुपैयाँ सहकारीका सञ्चालकहरुले व्यक्तिगत लाभका लागि प्रयोग गरी बचत फिर्ता नगरेको भन्दै बचतकर्ताहरुले पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयअन्तर्गत सहकारी महाशाखामा उजुरी दिएका थिए । 

महाशाखाकै अनुरोधमा खोजतलास अघि बढाएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनीहरुलाई हिजो पक्राउ गरेको हो । परेका उनीहरुलाई जिल्ला अदालत काठमाडौंबाट थप अनुमति लिई आवश्यक अनुसन्धान गरिरहेको ब्यूरोले जनाएको छ ।
 

टिप्पणीहरू