पूर्वप्रधानमन्त्रीमाथि भएको दुर्व्यवहारमा राजावादीहरुको हात

पूर्वप्रधानमन्त्रीमाथि भएको दुर्व्यवहारमा राजावादीहरुको हात

नेकपा एकीकृत समाजवादीले आफ्नो पार्टीका सम्मानित नेता झलनाथ खनालमाथि अभद्र व्यवहार गर्नेहरुलाई तुरुन्त कारवाही गर्न माग गरेको छ । 

हिजो काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रमुख वक्ताका रुपमा निम्त्याइएका खनालविरुद्ध राजावादीहरुको एक समूहले तथानाम गाली गर्दै हुलदंगा मच्याएको थियो । उक्त घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै एकीकृत समाजवादीले हुलदंगा गर्नेहरुमाथि कारवाहीको माग गरेको हो । 

‘सम्मानित नेता झलनाथ खनालमाथि केही पुनरुत्थानवादीहरूका मतियार अराजक तत्वहरूले कार्यक्रमलाई बिथोल्ने नियतले हो–हल्ला गर्ने, नाराबाजी गर्ने, तोडफोड गर्ने र अभद्र ढंगले दुर्व्यवहार र अपमानित गरेको घटनाप्रति हाम्रो पार्टी घोर भत्र्सना गर्दछ’, समाजवादीले निकालेको विज्ञप्तिमा भनिएको छ ।

भारतको नयाँ संसदमा नेपालको भूमिसमेत समेटेर नक्सा राखिएको विरोधमा साध्यबहादुर भण्डारीले संयोजन गरेको कार्यक्रममा पसेर आफूलाई पूर्वराजा ज्ञानेन्द्रको प्रशंसक भन्ने सन्तोष राजावादीको समूहले गणतन्त्रका नेताहरुलाई तथानाम गालीगलौज गरेको थियो । त्यसक्रममा मञ्चमै रहेका खनालमाथि उनीहरु खनिएका थिए ।  प्रहरीले हिजै कार्यक्रमस्थलबाट सन्तोषसहित नौ जनालाई पक्राउ गरेको जनाएको छ । 

यसैबीच उक्त घटनाको युवा संघ, नेपालले पनि आपत्ति जनाएको छ । संघले आज विज्ञप्ति जारी गर्दै अभद्र र अराजनीतिक हर्कतको घोर निन्दा र भत्र्सना गरेको छ । उक्त कार्यमा पूर्व राजासमर्थितहरुको हात रहेको आरोप लगाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘विभिन्न आवरणमा जनताले रछ्यानमा मिल्काइसकेको राजतन्त्रले फेरि टाउको उठाउन खोजेकोप्रति आम जनसमुदायमा ध्यानाकर्षण गराउँदै त्यसतर्फ सचेत रहन हार्दिक अपिल गर्दछौं ।’

टिप्पणीहरू