मालगाडी रोकेर माल तान्ने बर्दीधारीमाथि छानबिन शुरु

मालगाडी रोकेर माल तान्ने बर्दीधारीमाथि छानबिन शुरु

हरेक मालवाहक ट्रकलाई व्यस्त बीच सडकमा रोकेर माल उठाउने धन्दामा संलग्न भएको आरोपमा सशस्त्र प्रहरीका डिएसपी दिनेश बस्नेतमाथि छानबिन शुरु भएको छ ।

उनी सिन्धुलीमा कार्यरत छन् । बस्नेतले पूर्वी र मधेश प्रदेशबाट आएका प्रत्येक मालवाहक ट्रकलाई रोकेर दुःख दिने र माल झार्ने गर्न थालेपछि उनीविरुद्ध हेलो सरकारमा उजुरी परेको थियो । भिमान र सिन्धुली बजारको बीचमा ट्रक रोकेर दाम असुल्ने बस्नेत यसअघि काँकडभिट्टा नाकामा थिए ।

उनैबाट पीडित ट्रक चालक र व्यवसायीले हेलो सरकारमा उजुरी दिएका हुन् । सो उजुरी सशस्त्र प्रहरीको हेडक्वार्टरमा फरवार्ड गरिएपछि कार्यविभागका प्रमुख एसपी गंगाराम श्रेष्ठको नेतृत्वमा एक छानबिन टोली खटाइएको छ । स्रोतका अनुसार अहिलेका आइजीपीलाई गलत रिपोर्ट गर्न सिपालु आर्थिक प्रशासनका प्रमुखकै होम ज्ञवालीकै कारण बस्नेत जस्ता छाडाको मनोबल बढेको हो ।

ज्ञवालीका ब्याची कोही डिएसपी मात्रै छन् भने केही गणप्रमुख भएकाले उनीहरूबारे उनैले सबै ठीक छ हजुर भनेर ढाकछोप गर्ने गरेका छन् यसबीच, अनुगमन र निरीक्षणको काम रोकिएको अवस्था छ । त्यसैले बीच सडकमा सवारी साधन रोकेर पैसा असुल्ने धन्दामा सशस्त्र प्रहरीका केही अधिकृत अग्रसर भएको दाबी गरिएको छ ।

ज्ञवालीले आफ्ना ब्याचीलाई गुन लगाएबापत असुली धन्दा पनि चलाएको दाबी स्रोतले गरेको छ । ज्ञवालीले ठीक छ भनेपछि आईजीपीको सचिवालयले पनि अनुगमन र निरीक्षणको लागि टोली खटाउने काम रोकेको र कथं गैहाले पनि अघि नै खबर पुग्ने गरेको बताइन्छ ।

असुलीको धन्दा बढेको वीरगञ्ज, धनुषा, झापा, पश्चिम नवलपरासी, बाँके, कैलाली, तनहुँ, कास्की, पर्वत, कपिलवस्तु, काभ्रे र डोटी, जुम्लालगायत जिल्लामा अनुगमन भएको छैन । यसै कारण रासन खाने र बिदा छाड्ने धन्दा सशस्त्र प्रहरीमा पुनः मौलाएको दाबी गरिएको छ । 

 

टिप्पणीहरू