सामाजिक सुरक्षामा २३ अर्ब थप

सामाजिक सुरक्षामा २३ अर्ब थप

ज्येष्ठ नागरिक भत्तालगायत सामाजिक सुरक्षा कार्यक्रमका लागि सरकारले डेढ खर्ब बढी रकम छुट्याएको छ । 

आगामी आर्थिक वर्षको बजेट भाषणमा अर्थमन्त्री डा. प्रकाशशरण महतले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत १ खर्ब ५७ अर्ब ७३ करोड विनियोजन गरेको जानकारी गराउनुभएको हो । चालू आर्थिक वर्षको भन्दा यो रकम २३ अर्बले बढी हो । चालू आवमा सामाजिक सुरक्षा र औषधि उपचार तथा आर्थिक सहायताका लागि १ खर्ब ३४ अर्ब १ करोड रुपैयाँ विनियोजन गरिएको थियो ।

चालु आर्थिक वर्षदेखि ६८ वर्ष उमेर पुगेका जेष्ठ नागरिकलाई प्रदान गरिँदै आएको मासिक चार हजार रुपैयाँ भत्तालाई निरन्तरता दिइएको छ । ६० वर्ष पूरा भएका दलित, एकल महिला, विपन्न, सीमान्तकृत वर्ग र समुदाय तथा बालबालिकाले पाउँदै आएको सामाजिक सुरक्षा भत्ताका लागि पनि रकम विनियोजन गरिएको छ ।

छात्रवृत्ति, स्वास्थ्योपचार, स्वास्थ्य बीमालगायत क्षेत्रमा प्रदान गरिएको सामाजिक सुरक्षाका कार्यक्रमले पनि निरन्तरता पाएका छन् ।

सरकारले दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत परिवर्तनको नारासहित आर्थिक वर्ष २०८०/८१ को बजेट तयार पारेको अर्थमन्त्री डा. महतले बताउनुभयो ।

टिप्पणीहरू