रेशम चौधरीलाई आममाफी दिए पूर्वप्रहरीहरुले नसहने

रेशम चौधरीलाई आममाफी दिए पूर्वप्रहरीहरुले नसहने

पूर्वप्रहरी कर्मचारी परिषद् नेपालले टीकापुर घटनामा सर्वोच्च अदालतबाट दोषी ठहर भएर कैद सजाय भुक्तान गरिरहेका रेशम चौधरीलाई आममाफी नदिन माग गरेको छ । 

परिषद्ले राष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्री तथा राष्ट्रिय मानव अधिकार आयोगका प्रमुख आयुक्तलाई पत्र लेख्दै चौधरीको सजाय माफी नगर्न भनेको हो । यस्तो कार्यले बहालवाला प्रहरी कर्मचारीको मनोबल कमजोर पार्ने र अपराधीको मनोबल बढ्ने उल्लेख गर्दै परिषद्ले राजनैतिक स्वार्थका आधारमा माफी दिनु आफैंमा अक्षम्य अपराध हुने बताएको छ । 

पत्रमा भनिएको छ, ‘प्रहरीहरुको नृशंस हत्या गरी मानवअधिकारको समेत घोर उल्लंघन गरेका अपराधीलाई राजनैतिक स्वार्थका आधारमा माफी दिनु आफैंमा अक्षम्य अपराध हो ।’

२०७२ भदौ ७ गते टीकापुरमा घटनामा प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने र एक शिशुसहित आठ जनाको हत्या भएको घटनामा मुख्य दोषी ठहरिएपछि जन्मकैदको सजाय भुक्तानी गरिरहेका चौधरीलाई गणतन्त्र दिवसको अवसरमा माफी दिन सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।
 

टिप्पणीहरू