नगरपालिकाकाले बाँड्यो १० महिनामा तीन करोडको इन्धन

नगरपालिकाकाले बाँड्यो १० महिनामा तीन करोडको इन्धन

सिरहाको लहान नगरपालिकाले चालू आर्थिक वर्ष नबित्दै तीन करोड रूपैयाँको इन्धन वितरण गरेको छ । चालू आर्थिक वर्ष बित्न डेढ महिना बाँकी छँदै तीन करोड रूपैयाँ बराबरको इन्धन वितरण गरिएको तथ्य बाहिरिएको छ ।

२४ वडा रहेको नगरले वडाध्यक्षहरूलाई मासिक जनही १० लिटरको दरले इन्धन उपलब्ध गराउने कार्यपालिकाले यसअघि नै निर्णय गरेको थियो । ‘जनप्रतिनिधिलाई इन्धन दिनु स्वाभाविक हो,’ नगरपालिका उच्च स्रोतले भन्यो, ‘तर कर्मचारी र चिनजानकालाई सीमाहीन इन्धन वितरण गरिएको छ, यो चाँही अति भयो ।’ 

मेयर–उपमेयरबीचको विवाद चरमोत्कर्षमा पुगेको लहानमा बहुमतको आधारमा मेयर महेश चौधरी आफूखुशी चलेको आरोप लाग्दै आएको छ । यसैबीच मेयरले उपमेयर रामचलितर महतोले प्रयोग गर्दै आएको गाडी भने खोसेका छन् । 

मेयर विरूद्व प्रेसविज्ञप्ति जारी गरेपछि उपमेयरको गाडी विना जानकारी खोसिएको बताइएको छ । अहिले उपमेयर चढ्ने गाडी हालै हाजिर भएकी प्रमुख प्रशासकीय अधिकृत शोभा गौतमले प्रयोग गर्न थालेकी छन् ।

त्यसैगरी मेयर चौधरीले आफ्नो हस्ताक्षर बिना कुनैपनि सूचना बाहिर नदिन कार्यपालिका बैठकबाट निर्णय गराएका छन् । यस विषयमा जनआस्था संवाददाताले मेयर, उपमेयर तथा प्रमुख प्रशासकीय अधिकृतसँग प्रतिक्रिया लिन गरिएको पटक पटकको प्रयास सफल हुन सकेन ।
 

टिप्पणीहरू