राेल्पा : पानी र खानी, जडीबुटीको धनी

राेल्पा : पानी र खानी, जडीबुटीको धनी

दयाराम डाँगी

तत्कालीन समयमा पाँच जिल्ला मिलाएर राप्ती अञ्चल स्थापना भएको थियो । १४ अञ्चल ७५ जिल्लामध्ये दाङ पनि एक हो । अझ दाङलाई १४ सय दाङ भन्ने गरिन्थ्यो । सात सय सल्यान, आठ सय रोल्पाको बुढागाउँ रिम घुरलाई चिनाउँथ्यो ।

त्यतिबेला रुकुम, रोल्पा, प्यूठान जिल्ला नै थिएनन् । प्यूठान, रोल्पाको केही भागलाई स्वर्गद्वारी जिल्ला भनिन्थ्यो । २०१२ सालअघि यो जिल्ला गठन हुनु पहिले रोल्पा थुम दार्माकोट, थुम वाइस खुवा, थुम कालासेश अथवा स्वर्गद्वारी जिल्लाको रुपमा परिचित थियो । २०१७ साल पुस १ गतेको घटनापछि पञ्चायती शासन व्यवस्था स्थापना भयो ।

त्यसपछि मुलुकमा १४ अञ्चल, ७५ जिल्ला र पाँच विकास क्षेत्र विभाजन गरियो । सोहीअनुसार गाउँ पञ्चायत, नगर पञ्चायत, जिल्ला पञ्चायत गठन गर्ने क्रममा यो जिल्लाको निर्माण तथा जिल्लाभित्र गाउँ टोलहरु समेत पटक पटक थपघट तथा समायोजन भएको थियो ।

हाल लिवाङस्थित जिल्ला सदरमुकाम स्थापना समेतको ऐतिहासिक तथ्य प्रष्ट छ । यो जिल्ला गठन हुँदा प्यूठानको विकट कालासेस थुम र वाइसेस खुवा थुम तथा तथा सल्यानको दारमा कोट थुम र रोल्पाको थुम गरी चार थुम मिसाई एउटा नयाँ रोल्पा जिल्ला स्थापना गर्ने तत्कालीन श्री ५ को सरकारको निर्णय थियो ।

अहिले रोल्पा लुम्बिनी प्रदेशमा पर्छ । जिल्लाबासी अति सोझा, इमान्दार, त्यागी, कर्मठ, निष्ठावान छन् । यातायात सुविधाबाट पनि निकै पछाडि परेको थियो । जिल्लाको हावापानी, खोलानालामा पूर्वमा लुङ्ग्री खोला, उत्तर पश्चिममा माडी खोला बगेको छ । तर खोलाको सदुपयोग हुन सकेको छैन । यस जिल्लालाई औषधिको धनी भनिन्छ । औषधि निर्माणमा अत्यावश्यक जडीबुटीहरु रोल्पामा प्रशस्त पाइन्छ ।

जिल्लामा विशेषगरी पाँच आंैले, दालचिनी, शीतलचिनी, लोकतिते, रिठा, अलैंची, माला गिरि, ओखर, दाँते ओखर, टिमुर, हलुवावेद, सिलटिमुर, भाङो, च्यूरीघ्यू, अमला, भकिम्लो, पान्डु, चिराईंतो पाइन्छ ।

त्यसैगरी, काफल, ऐंसेलु, चुत्रा, लालिगुराँस, बादलपाटे, लइरेगुर्जो, गानेगुर्जो, हर्रो, बर्रो, रुख खरीदारी, सानो खरीदारी, पिपल जरा, घ्यूकुमारी, दुधेझार, कुरिलो, पदमचाल्नो, सिलाजु, बिस काप्रे, बिखमिठाजरी, विखमा, निर्मसी, अतिस, श्रीखण्ड, वन मूला, महा रङगी, सूर्यमूखी, महजरी, महजरी, महिवरजरा, धम्पेजरा, सुनाखरी, काउलो वोक्रा, समोच कालो, महजरी खन्ने, धतुरो, चुले, फलखोटा, जतामसी, ठूलो भुतले, लुरके तिते, जीवनतिक फूल, सुनाखरी फूल, वाजराजरा, गरेली, तोर मुला, पिठेयोर, दान्मु, कालोदाना, चुल्ठे, फलखोटा, रिठा आदी औषधिको रुपमा काममा आउने जडीबुटी हुन् ।  

रोल्पा खानीको पनी धनी छ । राज्यले जिल्लामा रहेको खानीलाई राम्रोसँग अध्ययन गरेको अवस्थामा र उद्योग कलकारखाना सञ्चालन गरिदिएको अवस्थामा काँचुली फेर्न धेरै टाढा छैन । रोल्पामा सुनदेखि नुनसम्म पाइन्छ ।सुनछहरी गाउँपालिका वार्ड नम्बर ७ जेल्वाङमा फलाम खानी र तामा खानी उत्खन् गरेर उपयोग गर्न थालिएको छ ।

सुन्छहरिबाट निस्कने सुनलुङ्ग्री नदीमा स्थानीयले बालुवा चालेर सुन निकाल्ने गर्दै आएका छन् । यसबाट उनीहरुले आफ्नो जिविका चलाइरहेका छन् । यसैगरी फगाम खोलामा पञ्चायत कालदेखि हालसम्म पनि बालुवा चालेर नियमित रुपमा सुन निकालेको पाइन्छ ।

साविक धवाङ गाविस हाल रोल्पा नगरपालिका १० मा सिसा खानी रचुनढुङ्गाको खानीले हाम्रो प्राकृतिक सम्पदालाई गिज्याइराखेको छ । तालावाङ साविक गाविसको र वार्ड नम्बर ८,९,२ र १ मा तामा खानी, चुनढुङ्गा खानी, तालावाङ ६ र धवाङमा फलाम खानी पाइएको धेरै भइसक्यो । चार दशकअघि भूगर्भ विभागका कर्मचारी रोल्पामा गएर एक जना नायव सुब्बाको नेतृत्वमा कर उठाउने गरिएको निर्वतमान अध्यक्ष मानबहादुर खत्री बताउँछन् ।

रुन्टीगढी गाउँपालिका होलेरीदेखि तलको कोइलाखानी ठाउँबाट पनि हालसम्म कोइला निकासी गरिएको छ । सरकारले गाउँमा खानी उत्खनन् गरिदिएमा स्थानीय युवा युवतीहरु काठमाडौंको इट्टाभट्टा र  विदेशमा जान पर्दैनथ्यो । अहिले हरेक घरका अभिभावक छोराछोरीले विदेशबाट पठाएको रकमबाट साहुको ऋण तिर्ने आशमा बसेको देखिन्छ ।

यस्तोमा कतिपयले विदेशमा ज्यान गुमाएका छन् । जलस्रोतमा पनि रोल्पा धनी छ । पूर्वमा लुङ्ग्री खोला बगेको छ भने पश्चिम उत्तरमा माडी खोला । रोल्पाको उत्तरी भेगको ढोरपाटनबाट रुकुमको तकसेरा र बाग्लुङ ढोरपाटनबाट बगेको नदी र रुकुमको लुकुम खोलालाई थवाङ खोलामा मिसाउने र सम्भव भए माडी खोलामा पुर्याएर माडी खोलाई दाङको बीच भागमा झारेर विद्युत उत्पादन गर्न सकिने सम्भावना छ । यसले पूरै लुम्बिनी प्रदेश सँधै झिलिमिली हुने थियो ।

माडी खोला थुनेर माडीचौरमा जलासययुक्त जलविद्युत परियोजना बनाउने आयोजनको सर्वेक्षण हुन लागेको अवस्थामा कोरोना महामारीको प्रकोपले सबै स्थगित हुन पुग्यो । ती आयोजनाका सामग्रीहरु हाल रोल्पा नगरपालिकामा हस्तान्तरण गरेको छ । माडी जलविद्युत आयोजना सम्पन्न नहुने भएकाले सम्पर्क कार्यालय पनि हटाइएको छ ।

जिल्लाका नेताहरु प्रधानमन्त्री, उपराष्ट्रपतिदेखि दुई पटक सभामुख, जलस्रोतलगायत धेरै वटा मन्त्रालयको मन्त्री बनिसकेका छन् । अहिले मात्रै होइन, रोल्पाले पञ्चायतकालमा पनि लगातार मन्त्री पाएको थियो ।

टिप्पणीहरू