लुम्बिनीमा जोशी आएलगत्तै घुमुवा छाप्छाप्ती

लुम्बिनीमा जोशी आएलगत्तै घुमुवा छाप्छाप्ती

बाह्य सूचना लिन कहिलेकाहीं  मात्र खटाइने सादा पोशाकका प्रहरी (घुमुवा) को दुरुपयोग हुने गरेको छ खासगरी सीमा क्षेत्रका जिल्लाहरुका तस्करी, मुद्धा मिलान,अवैध असुलीलगायतका गतिविधिमा प्रहरी उच्च अधिकारीहरुले प्रयोग गरेको व्यापक गुनासोपछि सशस्त्र प्रहरीले देशव्यापी रुपमै घुमुवा राख्न नपाउने उर्दी जारी गर्यो । तर नेपाल प्रहरीमा भने यो रोग झन झांगिदै गएको छ । 

लुम्बिनी प्रदेश प्रहरी प्रमुखमा डिआइजी उमेशराज जोशी आएलगत्तै जिल्ला जिल्लामा घुमुवाको भर्ति केन्द्र बनाइएको छ । नवलपरासी पश्चिमदेखि बर्दियासम्म सीमाक्षेत्रका जिल्लाहरुमा घुमुवा आतंक छ । प्रहरी हेडक्वार्टरले काज फिर्ता भन्दै प्रहरीहरुलाई दरबन्दी पठाए पनि ३–४ बर्षदेखि बस्दै आएका घुमुवाहरुलाई भने चलाइएको छैन । सबैभन्दा बढि घुमुवा आतंक बाँके र कपिलवस्तुमा देखिन्छ ।

प्रधानमन्त्री प्रचण्डको नजिक मानिने एसपी सन्तोष राठौरले बाँकेमा सई संगीत ओलीको कमाण्डमा १३ जना घुमुवाको दस्ता नै परिचालन गरेका छन् । घुमुवा परिचालनपछि बाँकेमा राँगा,चिनी, चामल खपत बढेको छ । सई संगीत ओलीको दरबन्दी अन्तै भएपछि ४ बर्षदेखि काजमा बसेका छन् । यसैगरी कपिलवस्तुका एसपी प्रेम बस्नेतले त झन प्रहरी निरिक्षकलाई नै घुमुवा खटाएका छन् । निरीक्षक भरत शाहीलाई २ महिनादेखि घुमुवा इन्चार्ज बनाएर जिल्लाका सीमा क्षेत्रमा असुलीका लागि खटाएको श्रोतको भनाई छ । डिआइजी जोशीकै निर्देशनमा एसपी बस्नेतले शाहीलाई खटाएको बताइन्छ ।

उनको कमाण्डमा कपिलवस्तुमा ११ जना घुमुवा तैनाथ छन् । तर मर्यादपुर,कृष्णनगर, चाकरचौडाबाट राँगा, खसी,चामल,चिनी, कपडालगायतका तस्करी संगठित रुपमा हुँदै  आएको छ । निरीक्षक शाहीले ती सबै तस्करीको लाइन मिलाउने गरेको प्रहरी श्रोतको दाबी छ । यसै गरी नवलपरासी पश्चिममा पनि एसपी विनोद सिलवालले हवल्दार ओमप्रकाश यादवको नेतृत्वमा ९ जना घुमुवा प्रहरी खटाएका छन् । महेशपुर भन्सार,भुजहा नाकाबाट हुने खसीबोका र चामल,कस्मेटिक तस्करी नियन्त्रण गर्न भने प्रहरीले सकेको छैन । बर्दियामा पनि असई भगिरथ चन्दको कमाण्डमा ९ जना घुमुवा परिचालन गरिएको छ । 

यी सबैको नाइके भने रुपन्देहीको भैरहवा एसएसपी कार्यालयमा खटिएका असई सन्तोष रायमाझी हुन् । उनी डिआइजी जोशीका घुमुवा भनेर चिनिन्छन् । जिल्ला–जिल्लाबाट श्रोत संकलन गरी माथि बुझाउने र प्रहरी उच्च अधिकारीसम्म राम्रै पहुँच भएकै कारण रायमाझी  ८ बर्षदेखि भैरहवामै कार्यरत छन् । हात र घाँटीमा ५ तोलाको सुनको सिक्री, ४० लाखको ब्रेजा गाडी र भैरहवामै सुविधा सम्पन्न आलिशान घरसमेत जोडेका धनाढ्य असई रायमाझी पटक पटक अकुत सम्पत्ति आर्जनको श्रोत नखुल्दा विवादमा समेत पर्दै आएका छन् । पारिवारिक श्रोतले भने पित्तथैलीको अप्रेशन गरेर सन्तोष एक वर्षदेखि घरमै बसिरहेको बतायो – 'हो, उनी घुमुवाको ड्युटीमा थिए । तर, अहिले होइन रविन्द्र धानुक लुम्बिनीको डिआइजी भएको बेला । अहिलेका उमेश जोशीसँग त उठबस नै छैन ।'

अनुसन्धानका लागि खटाइएका प्रहरीहरु असुली धन्दामा लागेका आरोपहरु आउँदासमेत गृह मन्त्रालयले बेवास्ता गर्दै आएको नेपाली व्यापारीहरुको आरोप छ । सीमामा तस्करी रोक्नुको साटो सेटिङ मिलाउन राज्य तहबाटै प्रहरी खटाइँदा एकातर्फ नेपाली व्यापारी मर्कामा छन् भने अर्कोतर्फ दैनिक करोडौं राजस्व राज्य संयन्त्रबाटै चुहावट भइरहेको छ । 

-उपेन्द्र डाँगी

टिप्पणीहरू