चुरोट सेवन नगर्न सिडिओ कार्यालयको निर्देशन

चुरोट सेवन नगर्न सिडिओ कार्यालयको निर्देशन

काठमाडौं जिल्ला प्रशासन कार्यालयले सार्वजनिक स्थानमा धुम्रपान तथा सूर्तिजन्य पदार्थ सेवन नगर्न निर्देशन जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयले त्यस्ता स्थानमा धुम्रपान तथा सूर्तिजन्य पदार्थ सेवन नगर्न, नगराउन भनेको छ ।

सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन) ऐन, २०६८ को दफा ४ अनुसार सार्वजनिकस्थलमा धुम्रपान तथा सूर्तिजन्य पदार्थ सेवन गर्न नहुने कानूनी व्यवस्था उल्लेख गर्दै प्रशासनले यस्तो निर्देशन दिएको हो ।
 सहायक प्रमुख जिल्ला अधिकारी खड्गबहादुर श्रेष्ठद्वारा जारी सूचनामा पार्क, सरकारी कार्यालय, शिक्षण संस्था, सार्वजनिक सवारीसाधन, विमानस्थल, सार्वजनिक शौचालय, चलचित्र घर, रंगशाला, धार्मिकस्थल, प्रतिक्षालयलगायत सार्वजनिक स्थानमा धुम्रपान तथा सूर्तिजन्य पदार्थ सेवन नगर्न नगराउन भनिएको छ ।

त्यस्तै, स्वास्थ्य संस्था, बाल कल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालय र नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको सार्वजनिक स्थलबाट कम्तीमा एक सय मीटरभित्रको पसलबाट सूर्तिजन्य पदार्थ बिक्री वितरण नगर्न नगराउन पनि निर्देशनमा समेटिएको छ ।

श्रेष्ठले १८ वर्ष नपुगेका व्यक्ति र गर्भवती महिलालाई सूर्तिजन्य पदार्थ वितरण गरेमा कडा कारबाही गरिने जानकारी दिएका छन् । यो कार्यमा सुरक्षाकर्मी, सामुदायिक संस्था तथा आमनागरिकबाट आवश्यक जागरुकता, सचेतना र सहकार्य गर्न अनुरोध गरिएको छ ।

टिप्पणीहरू