भर्खरै खुलेको नाकामा निर्यात ठप्प हुँदा व्यापारी निराश

भर्खरै खुलेको नाकामा निर्यात ठप्प हुँदा व्यापारी निराश

गत वैशाख १८ गते निकै तामझामका साथ खुलेको उत्तरतर्फको व्यापारिक नाका तातोपानीबाट निर्यात ठप्प हुँदा स्थानीय व्यापारी निराश भएका छन् । आयातसँगै निर्यात पनि खुलेको घोषणा गर्दै उक्त नाका खुला गरिएको थियो । 

तर खुलेको पहिलो दिन तीन कन्टेनर सामान चीन पठाए त्यसयता कुनै सामान निर्यात नभएको तातोपानी भन्सार कार्यालयले जनाएको छ । चीनमा नेपाली सामानको माग नभएका कारण निर्यात ठप्प भएको भन्सार प्रमुख दयानन्द केसीले बताए ।

दुईतर्फीरुपमा नाका खुला गरिएपनि यताको सामान उता नगएपछि व्यापारीले टाउकोमा हात राखेका हुन् । चीनबाट नेपालतर्फ दैनिक ८ देखि १० कन्टेनर सामान आयात हुने गरेको भन्सार कार्यालयले जनाएको छ ।

वैशाख १८ अघि पनि नाकाबाट चिनियाँ सामान नेपाल आउन रोकिएको थिएन । चीनले कोभिड माहामारी र कहिले सुरक्षाको कारण जनाउँदै नेपाली मालसामानको आयातमा रोक लगाएको थियो । नेपाली सामान चीनतर्फ पठाउन तयारी अवस्थामा राखिए पनि अप्रत्यक्ष रुपमा निर्यातमा समस्या देखिएपछि ट्रान्सपोर्ट व्यवसायीहरु पनि निराश भएका छन् । दुईतर्फी नाका खुलेसँगै हौसिएका व्यवसायीहरुले वैशाख १८ पछि तीन कन्टेनर सामान चीन पैठारी गरेका थिए ।

पछिल्लो तीन सातामा सामान ढुवानी गर्न नपाएको नमस्ते ग्लोबल लजिष्टिकका अध्यक्ष दानुर्पु शेर्पा बताउँछन् । निर्यात बढाउन आफूहरु ढुवानी भाडादरसमेत घटाउने सोचमा रहेको उनको भनाइ छ ।

निर्यातसँगै मानिसको आवतजावत पनि बढ्ने आशमा रहेका स्थानीय पनि पछिल्लो अवस्थाबाट निराश बनेको भोटेकोसी गाउँपालिकाका अध्यक्ष पासाङ नोर्बु शेर्पा बताउँछन् । उनले भने, ‘नाका सुचारु भएपछि तातोपानी क्षेत्रमा चहलपहल बढ्ने आशा निराशामा परिणत भएको छ,’ उनले भने ।

२०७१ साउन १६ गते खसेको जुरे पहिरोदेखि अवरुद्ध हुँदै आएको तातोपानी नाका र अरनिको राजमार्ग वैशाख १८ गतेदेखि पुरानै लयमा फर्कने आशामा रहेका स्थानीय फेरि चीनतर्फको निर्यात ठप्प हुँदा प्रतिक्रियाविहीन बनेका हुन् ।
 

टिप्पणीहरू