काश्मिरमा बैठक, काश्मिरमै विरोध

काश्मिरमा बैठक, काश्मिरमै विरोध

भारतले आयोजना गरेको जी २० सम्मेलन अघिको एउटा बैठकको चर्को विरोध भएको छ । भारतले जम्मु काश्मीरमा हिजोदेखि आयोजना गरेको उक्त बैठकको विरोधमा पाकिस्तान नियन्त्रित काश्मीरमा विरोध प्रदर्शन भएको छ ।

काश्मिरको श्रीनगरमा आयोजित तीन दिने बैठक विवादास्पद क्षेत्रमा राखिएको भन्दै पाकिस्तानी कश्मिरमा प्रदर्शन गरिएको बताइएको छ । यसअघि उक्त बैठकस्थलबारे संयुक्त राष्ट्र संघीय मानवअधिकार परिषद्अन्तर्गतको स्पेसन प्रोसेडुअर्स र चीनले विरोध जनाइसकेका थिए । 

प्रोसेडुअर्सले अल्पजातीमाथि भएको दमनबारे विज्ञप्ति जारी गर्दै सन् २०१९ देखि भारत नियन्त्रित सो क्षेत्रका सर्वसाधारण र अल्पसंख्यकमाथि भइरहेको दमन, मानवअधिकारको उल्लंघनबारे सूचीत गराएको थियो । भारत सरकारले विशेष सुरक्षा योजना लागु गरेपछि जम्मु काश्मिरका सर्वसाधारणले थप पीडा भोग्नुपरेको उसको ठहर छ । सन् २०२१ देखि त्यहाँको अवस्था थप चिन्ताजनक भएकाले हुन लागेको जी २० को कार्यसमूह बैठकका सहभागीले मानवअधिकारका विश्वव्यापी मान्यता, राष्ट्र संघको मानवअधिकार सम्बन्धी घोषणा कार्यान्वयन गर्न भारत सरकारलाई दबाब दिनुपर्ने उक्त संस्थाको भनाइ छ ।

यता पाकिस्तानीहरुले जी २० को बहिष्कारमा हिजोदेखि चर्को नाराबाजी गरेका हुन् । विदेशमन्त्री बिलावाल भुट्टो जरदारीले पनि उक्त बैठकस्थलको वैधानिकतामाथि प्रश्न उठाएका छन् । हिजोदेखि प्रारम्भ बैठकको २० मध्ये चीन, साउदी अरेबियालगायत मुलुकले बहिष्कार गरेका छन् ।

काश्मिरमा जी २० को पर्यटनसम्बन्धी तेस्रो कार्यसमूहको बैठक भएको हो । बैठक श्रीनगरस्थित शेर ए काश्मिर अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भइरहेको छ । यसअघि भारतीय प्रधानमन्त्री कार्यालयले उक्त बैठकको तयारी र सुरक्षाबारे निकै नजिकबाट नियालेको जनाएको थियो । जम्मुमा सन् २०१९ को अगष्टदेखि केन्द्र सरकारले विशेष सुरक्षा अवधारणाअनुसार सुक्ष्म विश्लेषण र अनुगमन गर्दै आएको छ ।

टिप्पणीहरू