पुराना सवारीसाधनलाई पत्रु बनाउन ३५ दिनको म्याद

पुराना सवारीसाधनलाई पत्रु बनाउन ३५ दिनको म्याद

बागमती प्रदेश सरकारले पुराना सार्वजनिक सवारीसाधनलाई नियमानुसार पत्रु कायम गर्न निर्देशन दिएको छ । श्रम, रोजगार तथा यातायात मन्त्रालयले ३५ दिनभित्र पुराना सार्वजनिक सवारीसाधनलाई पत्रु कायम गर्न निर्देशन दिएको बताइएको छ ।

मन्त्रालयले प्रचलित कानूनबमोजिम ३० वर्ष नाघेका विद्युतीय सवारीसाधन र अन्य सवारीसाधनको हकमा २० वर्ष नाघेकालाई सो समयावधिभित्र पत्रु गराउन भनेको हो । जसअनुसार प्रदेशभित्रका सवारी तथा यातायात क्षेत्रको व्यवस्थापनका लागि जारी गरिएको प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७५ को दफा १९ (४) मा उक्त व्यवस्था गरिएको छ । 

प्रचलित कानूनबमोजिम आफ्नो सवारी साधनको हालसम्म तिर्नु बुझाउनुपर्ने राजस्व बुझाई सवारीसाधनलाई पत्रु बनाउन मन्त्रालयले सम्बन्धित सवारी साधनका धनीलाई आग्रह गरेको हो । 

आज प्रकाशित सूचनामा भनिएको छ, ‘बागमती प्रदेश सरकारले प्रदेशभित्रको सवारी तथा यातायात क्षेत्रको व्यवस्थापनको लागि जारी गरेको प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७५ को दफा १९ (४) मा शुरु दर्ता भएको मितिले विद्युतीय सवारीसाधनको हकमा ३० वर्ष र अन्य सवारीसाधनको हकमा २० वर्ष नाघेका सार्वजनिक सवारीसाधनलाई पत्रु गर्नुपर्ने व्यवस्था गरेकाले सोअनुसार यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र प्रचलित कानूनबमोजिम आफ्नो सवारीसाधनको हालसम्म तिर्नु बुझाउनुपर्ने राजस्व बुझाई सवारीसाधन पत्रु गर्ने कार्य सम्पन्न गर्नुहुन जानकारी गराइन्छ ।’

यसैबीच एकीकृत यातायात मजदुर संगठन नेपालका केन्द्रीय अध्यक्ष रवी केसीले यान्त्रिक परीक्षणको आधारमा सार्वजनिक सवारीसाधन चलाउने निर्णय गर्न सरोकारवाला निकायलाई ध्यानाकर्षण गराएका छन् । उनले सार्वजनिक यातायातमा लागू गरिएको अव्यवहारिक २० वर्षे नीति कार्यान्वयन गरे सडक आन्दोलन गर्ने चेतावनी दिएका छन् । सरकारले २० वर्ष पुराना गाडीलाई ३५ दिनभित्र कवाडी बनाउन निर्देशन दिएपछि केसीले त्यस्तो प्रतिक्रिया दिएका हुन् ।

टिप्पणीहरू