ओलीलाई मेटमणिको कटाक्ष : लोकतन्त्रको परिभाषामा अदालतको फैसला उल्लंघन गर्न पाइने थपौँ

ओलीलाई मेटमणिको कटाक्ष : लोकतन्त्रको परिभाषामा अदालतको फैसला उल्लंघन गर्न पाइने थपौँ

नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वमन्त्री मेटमणि चौधरीले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि व्यग्यसहितको कटाक्ष गर्नुभएको छ ।

आजको प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्ने क्रममा ओलीद्वारा व्यक्त लोकतन्त्रको परिभाषालाई लिएर चौधरीले सामाजिक सञ्जालमार्फत् कटाक्ष गर्नुभएको हो । आफ्नो मन्तव्यमा एमाले अध्यक्ष ओलीले सामाजिक न्याय र सम्वृद्धि नै लोकतन्त्र भएको उल्लेख गर्नुभएको थियो । त्यसप्रति आफू र आफ्नो दल पूर्ण प्रतिबद्ध रहेको पनि उहाँको टिप्पणी थियो ।  

तर, पूर्वमन्त्री चौधरीले ओलीको उक्त अभिव्यक्तिको घुमाउरो ढंगले खण्डन मात्रै गर्नुभएन नीति तथा कार्यक्रममा धारणा राख्ने क्रममा सुझावभन्दा धेरै प्रतिशोध र कुण्ठा पोखेको भन्दै पाँच बुँदे व्यङ्गात्मक सुझाव पनि दिनुभएको छ ।  

‘उहाँ (ओली) ले लोकतन्त्रको विषयमा थप्नु पर्ने वाक्यहरू १. नेपालको संविधान र कानुन आफूलाई अनुकूल व्याख्या गर्न पाइने । २. सर्वोच्च अदालतले गरेको फैसलालाई उल्लङ्घन गर्न पाइने । ३. पूरा हुन नसकेको परियोजनाहरूलाई उद्घाटन गर्न पाइने । ४. बजेटको व्यवस्था नगरि परियोजनाको शिलान्यास गर्ने । ५. उपयुक्त परियोजनाभन्दा पनि कमिसनको मार्जिन हेरेर परियोजना अगाडि बढाउने’, उहाँको सुझाव छ । 

ओलीले १ घण्टा  ५५ मिनेट लगाएर सदनमा इगो, कुण्ठा मात्र पोखेको चौधरीको भनाइ छ । त्यस्तै, भूटानी शरणार्थी प्रकरण आफ्नै पालामा भएको हो भनी ओलीले स्वीकार गरेको बताउनुभएका उहाँले कटाक्ष गर्दै लेख्नुभएको छ, ‘यो विषयमा म (ओली) लाई धन्यवाद दिनुपर्दछ समेत जिकिर गर्नुभयो ।’
 

टिप्पणीहरू