जेठानसँग मिलेर बाबुद्वारा पाँच वर्षीया छोरी बारम्बार बलात्कृत

जेठानसँग मिलेर बाबुद्वारा पाँच वर्षीया छोरी बारम्बार बलात्कृत

के जन्म दिने बाबुले आफ्नै छोरीलाई बारम्बार बलात्कार गर्न सक्छ ? बिडम्बना ! सुन्दा पनि पत्यार नलाग्ने यस्तो घटना भारतको केरला राज्यमा घटेको छ । दक्षिण भारतको केरलाका एक बाबुले जेठानसँग मिलेर पटक-पटक पाँच वर्षिया छोरीलाई पटक-पटक करणी गरेको पाशविक घटना दुई वर्षअघिको हो । 

हालै मात्र त्यहाँको अदालतले बलात्कारको अभियोग लागेका बालिकाका बुवा र मामालाई ८४ वर्षको जेल सजाय सुनाएको छ । केरलाको विशेष पोक्सो अदालतले हिजो उक्त फैसला गरेको हो । 

देवीकुलम पोक्सो फास्ट ट्र्याक अदालतका न्यायाधीश रविचन्द्र सीआरले दुवै दोषीलाई यौन अपराधबाट बालबालिकाको संरक्षण ऐन (पोक्सो), भारतीय दण्ड संहिता र बाल न्याय ऐनअन्तर्गतको कानुनअनुसार कूल ८४ वर्षको जेल सजाय सुनाएको स्थानीय सञ्चारमाध्यमले जनाएको छ ।

विशेष अदालतले कैद बाहेक जनही तीन/तीन लाख जरिवानासमेत गरेको र सो रकम पीडितलाई दिन निर्देशन दिएको सरकारी वकिललाई उदृत गर्दै समाचारमा उल्लेख छ । पीडितलाई क्षतिपूर्ति भराउन अदालतले जिल्ला कानुन सेवा प्राधिकरणलाई पनि निर्देशन दिएको छ ।

 पीडित बालिकालाई एक वर्षसम्म बारम्बार बाबु र मामाले घरमै बलात्कार गरेको समाचारमा जनाइएको छ । सन् २०२१ मा बाबु र मामाले पटक–पटक बलात्कृत गरेको र पछिल्लो बलात्कारको घटना २०२१ डिसेम्बर २४ गते बालिकाकी आमाले थाहा पाएपछि घटना प्रहरी हुँदै अदालतसम्म पुगेको हो ।  

पीडित बालिकाकी आमाले बाल कल्याण समितिमा उजुरी गरेपछि दुवै अपराधीलाई पक्राउ गरि प्रहरीले अदालतमा मुद्धा चलाएको थियो । सोही मुद्दामा विशेष अदालतले आरोपितलाई ८४ वर्ष जेल सजाय र जरिवानाको फैसला गरेको हो ।
 

टिप्पणीहरू