बिना लुगाका सांसद

बिना लुगाका सांसद

माननीय अमरेशकुमारले संसदमै लुगा खोलेर आफूलाई अर्धनग्न बनाए । संसद्मै अर्धनग्न भएपछि सबैको ध्यान खिचिनु स्वाभाविकै भयो । सबैको ध्यान त्यतैतिर केन्द्रित भयो । सरकारले भ्रष्टाचारको फाइल खोल्छु भनिरहेकै बेला उता अमरेशकुमारजी जिउको लुगा खोल्दै थिए । अब आफ्नै जिउको कपडा खोल्दै गर्दा मानिसको ध्यान जानु स्वाभाविकै हो । ध्यान गयो पनि । 

तर, मेरोचाहिँ गएन । संसद्भित्रै एक जना सांसद नग्न हुँदै थिए । तर, उनीतिर मेरो ध्यान गएन । किनभने सांसदहरू नग्न हुनु कुनै नयाँ कुरा होइन । वा भनौँ, सांसदहरू नग्न नभएको दिन पो कहिले छ र ? लुगा त लगाएको हुन्छ । तर, लुगा लगाए पनि नग्नताचाहिँ छोपिएको हुँदैन । लुगा लगाए पनि नग्न देखिने कुनै प्राणी विश्वमा छन् भने ती सांसद नै हुन् । सांसदहरू यदि नग्न हुने हो भने लुगा फुकाल्नै पर्दैन ।

लुगामै पनि उनीहरू नग्न हुन्छन् । अब यस्तो स्थितिमा संसदमा कुनै सांसदले लुगा फुकाल्यो वा फुकालेन भन्नुको अर्थ के हुन्छ ? सांसदहरूले लुगा लगाउँदा शरीर त छोप्छ होला तर नग्नता छोपिँदैन । उनीहरूले लुगा लगाउने भनेको शरीर छोप्नलाई मात्रै हो, नग्नता छोप्नलाई होइन । अब यस्तो स्थितिमा अमरेशकुमारजीले लुगा लगाओस् वा फुकालोस्, त्यसको के अर्थ ?
 

टिप्पणीहरू