अष्ट्रेलियाबाट भिआइपी आउँदै, काठमाडौं–सिड्नी सिधा उडानबारे छलफल हुने

अष्ट्रेलियाबाट भिआइपी आउँदै, काठमाडौं–सिड्नी सिधा उडानबारे छलफल हुने

नेपाल वायुसेवा निगमसँग भएका चार वटा ठूला विमान फ्रान्समा निर्मित एअरबस कम्पनीका हुन् । दुई वटा वाइड र दुई वटा न्यारो बडीका ती विमान युरोपबाट उडाएर यहाँ ल्याइएको थियो । तर,त्यही युरोपले ती विमानलाई आफ्नो आकाश प्रयोग गर्न दिँदैन ।

युरोपको आकाशमा नेपाली विमानलाई उडान प्रतिबन्ध लागेको १० वर्ष भइसक्यो । यात्रु र उडान सुरक्षा संवेदनशीलताको विषय उठाउँदै युरोपेली युनियनले सन् २०१३ को डिसेम्बरदेखि उक्त प्रतिबन्ध लगाउँदै आएको हो । भलै गत नोभेम्बरमा उक्त निर्णयमाथि पुनर्विचार गरिए पनि प्रतिबन्ध फुकुवा भएको छैन ।

तर यही बेला नेपालले आफ्नो वाइडबडी जहाजलाई काठमाडौंबाट सोझै अष्ट्रेलियाको सिड्नीसम्म उडाउने तयारी गरेको छ । नेपालले गरेको उक्त पहलप्रति अष्ट्रेलियाले सकारात्मक जवाफ दिएको सरकारी अधिकारीहरुको भनाइ छ । ‘एक महिनाभित्र खबर पठाउँछौं भनिएको छ,’ अष्ट्रेलियाबाट प्राप्त जवाफको हवाला दिँदै सरकारका एक जना वरिष्ठ अधिकारीले बताए ।

यही मेसोमा त्यहाँका सहायक विदेशमन्त्री टिम वाट्स पर्सि नेपाल आउन लागेका छन् । दुई दिने भ्रमणमा आउन लागेका उनले शैक्षिक,नागरिक उड्डयनलगायत विषयमा कुराकानी गर्ने बुझिएको छ । त्यसैगरी दुई मुलुकबीच रहेको जनस्तरको मजबुत सम्बन्धलाई थप कसिलो पार्नेबारे पनि काठमाडौं बसाईको क्रममा छलफल हुने अधिकारीहरुले बताएका छन् ।

बंगलादेशमा आयोजित छैठौं हिन्द महासागरसम्बन्धी सम्मेलनमा सहभागी भएपछि उनले भुटान, भारत र नेपालको भ्रमण गर्न लागेका हुन् । सहायक विदेशमन्त्रीको यो भ्रमणलाई नेपालले कत्तिको क्यास गर्न सक्छ त्यो भने हेर्न बाँकी छ । नेपाल अष्ट्रेलियामा अध्ययन गर्ने विदेशी विद्यार्थीहरुको संख्याको आधारमा तेस्रो ठूलो मुलुक हो ।

न्युजिल्याण्डकी भूतपूर्व प्रधानमन्त्री हेलेन क्लार्क बंगलादेशको राजधानी ढाका हुँदै हिजो मध्यान्ह काठमाडौं आइपुग्नुभएको थियो । उहाँ आज पोखरा जानुभएको छ ।

भूतपूर्व प्रधानमन्त्री क्लार्क सगरमाथा सफल आरोहणको ७० औं वार्षिकोत्सवका अवसरमा आयोजना गर्न लागिएको कार्यक्रममा सहभागी हुन आउनुभएको बताइएको छ ।

टिप्पणीहरू