हतियारका निम्ति जति पनि हाजिर

हतियारका निम्ति जति पनि हाजिर

देश आर्थिक मन्दीको शिकार भएको छ । खर्चहरू व्यापक कटौती गरिँदै छ । तर, यस्तैबेला बिचौलियाहरू सेनालाई काम नलाग्ने भनिएको हतियार किनाएर करोडौंको खेलो चलाउँदैछन् ।

पूर्व अर्थ र सञ्चारमन्त्री तथा कांग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्कीका भाइ लोकेन्द्रले दाइका साथी पूर्णबहादुर खड्का रक्षामन्त्री रहेको मौका छोपी यस्तो धन्दा चलाएका हुन् । हतियार पनि काम लाग्ने भए त हुने नि, पहिल्यै काम नलाग्ने भनेर पन्छाइएको ‘के– टु’ सिरिजको राइफल खरिदको मामिला हो यो । अनि, अहिले नै सेनालाई हतियार नभई नहुने स्थिति पनि हैन । पूर्णचन्द्र थापा प्रधानसेनापति हुँदा कमिशनको चक्करमा सम्झौता भई ३२ हजार थान कोरियन हतियार भित्र्याइएको थियो ।

तर, उक्त हतियार प्रयोगकर्ता सैनिक जवानको तहबाटै अनेकन गुनासो आए । भाँचिने, नाल तात्तिने, निशाना बिग्रिनेजस्ता समस्या देखिएपछि हालका प्रधानसेनापति प्रभुराम शर्माले पदमा बहाली हुँदाहुँदै ४ वटा कमाण्डको अवधारणासँगै उक्त हतियारको थप खरिद सम्झौता रद्द गरे । त्यससँगै अमेरिकी कोल्ट कम्पनीबाट खरिद सम्झौता भई भुक्तानीका लागि अर्थ पठाइसकिएको एम– १६ हतियारको रकम अहिलेसम्म अड्किएको छ । त्यसबेला जनार्दन शर्मा अर्थमन्त्री थिए । अमेरिकी कम्पनीलाई भुक्तानी दिइँदा चिनियाँ पक्ष रिसाउला भनी उनले पैसा रोके । हुँदाहुँदा पैसा खर्च भइसकेको कोरियन हतियारको मतलब छैन, काम लाग्दैन, क्षति हुन्छ भन्दाभन्दै त्यही राइफल ल्याउन बिचौलिया सल्बलाएका हुन् । अहिले प्रभुरामले रोक्न चाहँदा पनि सकेनन् । किनभने यसमा विभिन्न शक्तिकेन्द्रको दबाब थियो । 

यो हतियार खरिदको मामिला सवा दुई अर्बको हो । यसबीच, चिनियाँ कम्पनीसँग सेनाका लागि ३–४ अर्बको हतियार र गाडीको सम्झौता भएको छ । यसरी अहिले जबरजस्ती चलखेल गरिरहेका लोकेन्द्र उनै व्यक्ति हुन्, जसले पूर्णचन्द्रको पालामा तराई–काठमाडौं द्रूतमार्ग (फास्टट्रयाक) मै करोडौं नाफाको काम लिएका थिए । 

देशको ढुकुटीमा तलब खुवाउने पैसा छैन भनिन्छ । हतियार किन्ने पैसाचाहिँ हुँदोरहेछ । स्मरण रहोस्, तीन हप्ताअगाडि दक्षिण कोरियाली जासुस उपप्रमुख किम हावोन सुटुक्क नेपाल आएका थिए भने हाम्रा गुप्तचर प्रमुख हुतराज थापा पनि गत हप्तादेखि अमेरिका यात्रामा छन् ।

(जनआस्था साप्ताहिकबाट साभार)

टिप्पणीहरू