नाम फौजी, काम मनमौजी

नाम फौजी, काम मनमौजी

सर्वसाधारणको सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरी नै सर्वसाधारणको हातखुट्टा भाँच्नतर्फ अग्रसर भएपछि कसको के लाग्छ ? सशस्त्र प्रहरी बलको काभ्रे गणका नायब उपरीक्षक (डीएसपी) पंकज पौडेलको त्यस्तै काण्ड यतिबेला चर्चामा छ ।

भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर २, बालकोटस्थित घरअगाडि छिमेकीसँग जग्गामा विवाद हुँदा अवस्था कुटाकुटसम्म पुगेको थियो । उनले सादा पोशाकका कर्मचारी पठाएर छिमेकी कृष्णभक्त श्रेष्ठको परिवारलाई घाइते हुने गरी पिटेको किटानी जाहेरी प्रहरीले दर्ता गर्न मानेको छैन ।

‘उनी पहिलैदेखि विवादित पात्र हुन् । न आचरण ठीक छ, न आनाबानी । पब्लिकसँग कस्तो व्यवहार गर्नुपर्छ भन्ने पनि थाहा छैन । प्रधान कार्यालयमा पटकपटक उजुरी परिसकेको छ’, स्रोतले भन्यो,‘तर, हरेक पटक जोगिएका छन् । काठमाडौं पढेर आएको भनी खुबै घमण्ड देखाउँछन् ।’

डिएसपी पौडेलमाथि जन्म दिने आमालाई समेत कुटपिट गरिसकेको आरोप छ । उनले सुदूरपश्चिम गणमा रहँदा आफ्नो ‘आईडी कार्ड’ देखाएर रक्सी ल्याउने गरेका थिए । यता, सिन्धुलीमा कार्यरत डिएसपी दिनेश बस्नेतको कर्तुतको लिष्ट पनि लामै छ । दुई वर्ष काँकडभित्ता भन्सार कार्यालयमा खटिइसकेका उनले भिमान वरिपरि चेकिङ राखेर पैसा असुल्ने गरेका छन् । 

स्रोतका अनुसार पूर्वबाट आउने स–साना गाडीलाई रोकर पैसा उठाउँछन् । गत वर्ष उनलाई सचेत गराएर छोडिएको थियो । ‘उनी एकदम खराब नियत भएका व्यक्ति हुन् । जाँड भएपछि अरु केही चाँहिदैन,’ स्रोतले भन्यो ।
 

टिप्पणीहरू