नक्कली शरणार्थी घोटाला प्रकरणमा समातिएका इन्द्रजीतको पक्षमा मानव अधिकार आयोगसङ्ग हारगुहार

नक्कली शरणार्थी घोटाला प्रकरणमा समातिएका  इन्द्रजीतको पक्षमा मानव अधिकार आयोगसङ्ग हारगुहार

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका तत्कालीन सुरक्षा सल्लाहकार ईन्द्रजीत राईलाई हिरासतमा मानसिक यातना दिइएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा त्यसविरुद्ध उजुरी परेको छ । 

आज आयोगमा दर्ता भएको उजुरीमा यसमा संलग्न प्रहरी अधिकृतलाई कारबाही गरी पीडितलाई न्याय दिलाउन माग गरिएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा रहेका राईलाई रातारात काठमाडौं उपत्यका प्रहरी कार्यालय सारेर मानसिक यातना दिइएको उजुरीकर्ताको आरोप छ । 

‘ईन्द्रजीत राईलाई राति काठमाडौं उपत्यका प्रहरी कार्यालयमा लगेर मानसिक यातना दिइएको विषयमा २०८०–१–२६ गते प्रकाशित नेपालप्रेस अनलाइनलगायत मिडियामा समाचार प्रकाशित भएको छ’, उजुरीपत्रमा भनिएको छ,‘यसरी राज्यको सुरक्षा निकाय प्रहरी र त्यहाँका पदाधिकारीहरुले नै मानव अधिकारको उल्लङ्घन गर्नु लोकतान्त्रिक शासनको उपहास हो ।’

त्यस्तै, उजुरीकर्ताले कुनियतबस जबरजस्ती गलत कुरा बोल्न लगाउनु अपराध भएको बताएको छ । मानसिक यातनाबाट व्यक्तिको ज्यानसमेत जान सक्ने स्मरण गराउँदै उजुरीकर्ताले आग्रह र पूर्वाग्रह नभई तथ्य र प्रमाणको आधारमा निष्पक्ष छानबिन गर्न जोडदार माग गरेको छ ।

सर्वसाधारण नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने करोडौँ कुम्ल्याउने गिरोहमा संलग्न रहेको प्रमाण भेटिएपछि राई गतसाता पक्राउ परेका थिए ।

टिप्पणीहरू