नक्कली शरणार्थी प्रकरणमा एमाले महासचिवको दावी

नक्कली शरणार्थी प्रकरणमा एमाले महासचिवको दावी

एमाले महासचिव शंकर पोखरेलले नक्कली शरणार्थी प्रकरणमा आफ्नो पार्टी र अध्यक्ष केपी शर्मा ओली संलग्न नभएको बताउनुभएको छ । उहाँले हिजो साँझ बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच उक्त विषयमा कुनै छलफल नभएको जानकारी दिनुभएको छ । 

काण्डमा संलग्न पार्टी नेताहरुलाई जोगाउन शीर्ष नेताहरुको दौडधुपबारे सञ्चारमाध्यममा प्रकाशित समाचारको खण्डन गर्दै उहाँले उक्त बैठकमा आफूसमेत सहभागी भएको र त्यसबारे कुनै चर्चा नभएको दाबी गर्नुभएको हो । एमाले सचिव टोपबहादुर रायमाझी फरार रहेकै अवस्थामा भर्खरै काँग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरीले पक्रेको छ ।

आफूसँगै हिजोको बैठकमा शीर्ष नेताहरुको साथमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र माओवादी नेता अग्नि सापकोटा पनि रहेको पोखरेलको स्पष्टोक्ति छ । सामाजिक सञ्जालमा लेख्दै पोखरेलले भन्नुभएको छ, ‘त्यहाँ संसदीय समिति गठनका सन्दर्भमा छलफल भएको थियो । संवैधानिक परिषदको कानुनमा प्रधानमन्त्रीलाई विशेषाधिकार दिने कुरा सत्तापक्षको रहेकोमा त्यसमा एमालेको असहमति रहेको सन्दर्भमा छलफल भएको थियो । नेकपा (एमाले) को धारणा परिषदका अध्यक्षलाई विशेषाधिकार दिने कुरा संसदीय लोकतन्त्रमा सोच्न सकिँदैन भन्ने हो ।’

बैठकमा आफ्ना असहमति राखेर निस्केको उहाँको भनाइ छ । तर, नेताहरु बालुवाटारबाट उठेको १२ घण्टामा पूर्वगृहमन्त्री तथा काँग्रेस नेता खाँण पक्राउ पर्नुले पोखरेलको दाबी हास्यास्पद साबित भएको बताइन्छ ।

टिप्पणीहरू