डिम्पल गालाले, मर्नुझैँ बनायो उनको चालाले

डिम्पल गालाले, मर्नुझैँ बनायो उनको चालाले

हाम्रो समाजमा स्थापित भाष्य, ‘केटा बदमास, फटाहा, ठग !’ तर, अब भाष्य बदलियो, केटीमा त्यो कुरा लागू हुन थाल्यो । केटा ठगेर केटीले आफ्नो घरबार नै बसाउने र चलाउने दिन आयो । यसरी एक युवतीबाट एक जना सज्जन ठगिए । फलतः केटाको लाखौंको लगानी ‘बालुवामा पानी’ बन्न पुगेसँगै उनी मर्नु न बहुलाउनुको अवस्थामा छन् । 

आफू ठगीमा परेको जाहेरी लिएर जिल्ला प्रहरी कार्यालयदेखि अदालतसम्म उपस्थित हुन्छन् । तर, न्याय मिल्दैन । के महिलामाथि हुने हिंसाचाहिँ हिंसा, पुरुषले भोग्नेचाहिँ हिंसा होइन ? यो पीडा हो सोमबहादुर गुरुङको । उनको प्रश्न छ, ‘महिलाका लागि तत्काल आकर्षित हुने कानुन पुरुषका लागि किन हुँदैन ?’ सहमतिमा यौन सम्बन्ध राखेको भए पनि महिलाले आरोप लगाएको २४ घण्टा बित्न नपाउँदै पुरुष ‘बलात्कारी’ हुन्छ । महिलाबाट साँच्चै पीडित एउटा पुरुषचाहिँ रीतपूर्वक जाहेरी दिँदा पनि हाँस्यको पात्र मात्रै बन्छ । उनका पीडाका भाका प्रश्नको थुप्रो बन्छ, अनुसन्धानको विषय बन्दैन । सोमबहादुर सोध्छन्, ‘यो कस्तो न्याय ? यो कस्तो कानुनी संरचना ?’ 

कथा यस्तो छ–

सिन्धुपाल्चोककी सविता लामा निर्माण व्यवसायी ठेकेदार पिताको साथ लागेर लमजुङ बेँसीतिर ओर्लिन्छिन् । त्यहीँको मस्र्याङ्दी क्याम्पस, बेंसीशहरमा १२ कक्षामा भर्ना हुन्छिन् । खासै पढाइ लेखाइ नभएका सोमबहादुर वैदेशिक रोजगारको सिलसिलामा पुग्छन् दुबई । एक दिन सामाजिक सञ्जाल चलाउँदै गर्दा भेटिन्छिन् सविता लामा । रिक्वेस्ट पठाएको पाँच मिनेट नबित्दै स्वीकार हुन्छ । कार्यालय समय सकिएपछि उनी हरेक दिन सामाजिक सञ्जालमा सवितासँग भलाकुसारी गर्न थाल्छन् । गालामा डिम्पल पर्ने सविताको मुस्कान देखेर लठिन्थे । उनीहरूबीच कुनै नाता/सम्बन्ध थिएन । तर हरदिन कुराकानी चल्दै गयो । दिन बित्दै गयो । हरेक दिन घण्टौं यसरी गफिँदै गर्दा थाहै नपाई दुई दिल एकै भएको महसुस गर्न थाले सोमबहादुर । आजभन्दा भोलि, भोलिभन्दा पर्सि । सवितासँग एक पल कुरा गर्न नपाउँदा नियास्रिन थाले । 

गालामा डिम्पल पर्ने साेविताकाे मुस्कान देखेर लठ्ठिन्थे । उनिहरूबीच कुनै नाता सम्बन्ध थिएन ।

भेटघाट र सम्पर्क यसरी बाक्लिँदै गएको सोमको दिल सोवितामाथि बस्दै गयो । कोमल मनका उनको कमजोरी थियो कसैको दुःख देख्न नसक्ने । अरुको दुःख, पीडा र दर्दलाई पनि आफ्नैझैँ ठान्ने । आफ्नो सानो वचन र सहयोगले कसैको जिन्दगीको नक्सा फेरिन्छ र जिन्दगी नै कायापलट हुन्छ भने ‘सहयोग गरौँ न त’ भन्ने भावका । उनी नजिकिँदै जाँदा केटीका केही चाहना र फरमाइस आउन थाल्यो । उनका हरेक ‘फर्माइस’ पूरा गराउँदै गए । कहिले कुर्ता सुरुवालका लागि पैसा पठाइदिए तर कहिले बर्थ डे र भ्यालेन्टाइन्स डेका नाममा महँगा–महँगा गिफ्ट । फलानो दिन त ‘मेरो बर्थ डे नि’ भन्थिन् । मागेको कुरा पु¥याउँदै गएपछि एउटा बर्थडेमा सुनको सिक्रीको प्रस्ताव गरिन् । उनको एकै प्लिजका अगाडि सोमबहादुर गलिहाल्थे । ओके भनिहाल्थे । र, बर्थडेमा एक तोलाको सुनको सिक्री किन्नका लागि पैसा पठाइदिए । हरेक फर्माइस पूरा हुन थालेपछि सोविताका सोख र महत्वाकांक्षा दिन दुई गुणा रात चौगुणा बढ्दै गयो । 

कुराकानीकै सिलसिलामा सविताले डाक्टरी पढ्ने इच्छा देखाइन् । तर, डाक्टरी पढ्नका लागि पैसाको अभाव भएको बताएपछि उनले खाडीमा दुःख गरेर कमाएको रकम सविताको नाममा पठाउन थाले । सोम यसरी लचिलो भएर सविताका लागि लगानी गर्न तयार हुनुपर्ने कारण थियो, सामाजिक सञ्जालबाटै सविता श्रीमती बन्न राजी भइसकेकी थिइन् । सोम स्वदेश फर्किएपछि धार्मिक परम्पराअनुसार विधिवत् रूपमा विवाह गरेर श्रीमती बन्न राजी भएकी थिइन् सोविता । श्रीमती भनिसकेपछि सोमले उनलाई लगानी नगर्ने कुरा पनि भएन । खाडीमा बगाएको श्रम–पसिनाबाट आर्जित रकम सोविताको खातामा हाल्दै गए । सोवितालाई डाक्टर बनाएर आफ्नो भविष्य उज्ज्वल बनाउने सपना देखे र लगानी गर्दै गए । उनलाई डाक्टर बनाउन शुरुमा पटक–पटक गरी २० लाख पठाए । फर्माइस थपिँदै गयो, उनले विभिन्न मितिमा सोवितालाई पठाएको २० लाखको स्लिप उनीसँगै सुरक्षित छ । यसरी आफूले खाडीमा श्रम बेचेर पठाएको रकमले सोविताले चितवनको मिडिकल कलेजमा भर्ना भएको सुनाइन् । खुशीले पुलकित हुन्थे सोम । दिनभरको कामबाट थाकेर कोठा फर्कन्थे । श्रीमान् श्रीमती नै बन्न राजी भइसकेका कारण उनी मन बहलाउन सोवितासँग जिस्किन्थे । जिस्कँदा जिस्कँदै सोविता नग्न बनिदिन्थिन् । उनी स्खलित हुन्थे । एउटा कुमार केटो युवतीको मोहनीमा यसरी फस्दै गए कि अहिले त्यहाँबाट निस्कन नसकेर निस्सासिने अवस्थामा पुगेका छन् । 

विवाह गर्ने र सुख सयलसँग स्वदेशमै जीवन बिताउने योजना बुनेर यही चैतको मध्यमा सोम दुबईबाट स्वदेश फर्किए । स्वदेश फर्किएपछि सोविताले बोक्ने गरेको मोबाइलमा डायल गरे, जतिखेर डायल गर्दा तारान्तार एउटै कर्कश आवाज सुन्न थाले ‘माफ गर्नुहोला,तपाईंले सम्पर्क गर्न खोज्नुभएको मोबाइलको स्विच अफ गरिएको छ । ‘एक दिन, दुई दिन हुँदै हप्ता, दुई साता बित्यो । स्वदेश फर्किएको आधा महिना बित्दा पनि केही भेउ पाएनन् । एक दिन सोविताले बोक्ने गरेको नम्बर अन भयो । सोविताको आवाजको पर्खाइमा थिए उनी । उताबाट उनी सविता भन्दै थिए यताबाट कर्कश केटाको आवाज निस्कियो ‘को हो सविता म चिन्दिनँ ।’ बल्ल उनको मनमा चिसोे पस्यो’ आफू छाँगाबाट खसेझैँ भए । यसरी आफू ठगिएको जाहेरी बोकेर उनी प्रहरीकोमा पुगे । प्रहरीले यो हाम्रो क्षेत्राधिकार होइन भन्दै उजुरी नै दर्ज गर्न मानेन । जिल्ला प्रहरी कार्यालय लमजुङका चोटाकोठा धाए । भेटिएका सिपाहीदेखि डिएसपीसम्मलाई नमस्कार टक्र्याए । तर, प्रहरीको मुखबाट एउटै कुरा आयो यो हाम्रो कार्यक्षेत्र पर्दैन ।

यस्तो उजुरी हामीले लिन मिल्दैन भन्दै अदालतलाई देखाएर प्रहरी उम्किन खोज्यो । उनी न्याय पाइने आशमा अदालतको ढोका ढकढकाउँछन् । अदालतले प्रहरीलाई देखाएर उम्कन्छ । न्यायको खोजीमा भाैँतारिएका उनी घरी अदालत, घरी प्रहरीतिर धाइरहेका छन् । जसरी बिरालाले मुसालाई खेलाउँछ उसैगरी उनलाई न्यायालय र सुरक्षा निकायले खेलाइरहेको छ । शुरुमा आफ्नो ‘मजबुरी’ देखाउने, अनि औँलो दिँदै गएपछि डुडुलो नै निल्ने नयाँ प्रकृतिका ठगी धन्दामा परेका सोम उजुर बाजुर गर्छन् तर सरकारी निकाय कोही उजुरी लिन मान्दैनन् । उल्टै हाँसोको पात्र बनाउँछन् र उडाइरहेका छन् । सोम अहिले विक्षिप्त बनेर कहिले अदालतको गेट त कहिले प्रहरीको गेट धाउँछन् हातमा सवितालाई पैसा पठाएको प्रमाण बोकेर । यसरी विदेशमा श्रम–पसिना बेचेर आर्जिएको रकम एउटा युवतीले खाइदिएको उजुरी बोकेर कानुनी उपचारको बाटोमा लागेका उनको उजुरी न प्रहरीले लिइरहेको न त अदालतले । एकातिर युवतीबाट लाखाैँ ठगी, अर्काेतिर राज्यका निकायबाटै सहयोग नहुँदा अचेल न रातमा निद्रा पर्छ, न दिनमा भोक नै !

– अञ्जनकुमार हिमाली

(जनआस्था साप्ताहिकबाट साभार)

टिप्पणीहरू