प्रमुख प्रशासकीय अधिकृत माग्दै नगरपालिका घेर्न निस्केका प्रदर्शनकारीले प्रधानमन्त्रीको पुत्ला जलाए

प्रमुख प्रशासकीय अधिकृत माग्दै नगरपालिका घेर्न निस्केका प्रदर्शनकारीले प्रधानमन्त्रीको पुत्ला जलाए

नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत माग्दै विरोध प्रदर्शनमा उत्रिएका महागढीमाईका स्थानीयले प्रधानमन्त्रीको पुत्ला जलाएका छन् ।  

चार महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहिन हुँदा कामकाज सबै ठप्प भएको भन्दै नगरपालिका घेराउमा निस्केका स्थानीयले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पुत्ला जलाएका हुन् । सरकारले प्रमुख प्रशासकीय अधिकृत पठाउन चासो नदेखाएको उनीहरुको आरोप छ । 

सयौंको संख्यामा रहेका स्थानीयले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीको राजीनामासमेत मागेका छन् । प्रमुख प्रशासकीय अधिकृत पठाउन नसक्ने मन्त्री पदमा बस्न नहुने भन्दै उनीहरुले चर्को नाराबाजी गरिरहेका छन् । 

प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरपालिकाले कर्मचारीलाई तलब खुवाउन नसकेको उपमेयर तारादेवी कानुले बताइन् । नगरपालिका कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मीसहित ६५८ जना कर्मचारीले चार महिनादेखि तलब नपाएको उनको भनाइ छ । 

उनका अनुसार यतिबेला महागढीमाई नगरपालिकाको माहौल एकदमै तनावपूर्ण बनेको छ । ‘यहाँको अवस्था एकदमै आक्रान्त बनेको छ । स्थानीयहरुले नगरपालिकाको कार्यालय घेरेका छन् । वृद्ध भत्ता नपाएर वृद्धवृद्धाहरु यहाँ आएर रुनुहुन्छ । कर्मचारीहरुले तलब पाउन सक्नुभएको छैन् । हामी त तनावमा परेका छौं’, उनले भनिन् । 

प्रमुख प्रशासकीय अधिकृत नहुँदा बजेट फ्रिज हुन लागेको उपमेयर कानुले जानकारी दिइन् । यता, नगरपालिकाका मेयर उपेन्द्र यादव प्रमुख प्रशासकीय अधिकृत माग गर्न यतिबेला काठमाडौं आएका छन् ।
 

टिप्पणीहरू