जसपाको विधान अधिवेशन दोस्रो पटक सर्ने
जनता समाजवादी पार्टी (जसपा) को विधान अधिवेशन फेरि सर्ने भएको छ । आउँदो जेठ १ गतेदेखि ३ गतेसम्म काठमाडौंमा गर्ने भनिएको विधान अधिवेशन दोस्रो पटक सर्ने भएको हो ।
तयारी पूरा नभएकाले अधिवेशन सार्नुपर्ने अवस्था सिर्जना भएको जसपाका प्रचार विभाग प्रमुख पूर्णबहादुर बस्नेतले बताए । उनका अनुसार केही दिनमा बस्ने कार्यकारिणी समितिको बैठकले यसबारे निर्णय गर्नेछ ।
‘विधान अधिवेशनको तयारी सम्पन्न भइसकेको छैन् । हामीलाई पनि भ्याइँदैनजस्तो लागेको छ । अब बस्ने कार्यकारिणी समितिको बैठकले यसबारे निर्णय गर्ला’, बस्नेतले भने ।
जसपाले गत चैत २७ देखि २९ गतेसम्म काठमाडौंमा विधान महाधिवेशनको मिति तय गरेको थियो । तर, पार्टीका अध्यक्ष उपेन्द्र यादव उपनिर्वाचनको उम्मेदवार बनेपछि अन्तिम समयमा अधिवेशन स्थगित गरि जेठ १ का लागि तोकिएको थियो ।
टिप्पणीहरू