जनप्रतिनिधि र कर्मचारीको विदेश भ्रमणमा कडाई

जनप्रतिनिधि र कर्मचारीको विदेश भ्रमणमा कडाई

सरकारले स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरुलाई विदेश भ्रमणमा कडाइ गरेको छ । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मुलुकभरका स्थानीय तहलाई परिपत्र गर्दै अत्यावश्यक र औचित्यपूर्ण अवस्था बाहेक विदेश भ्रमणमा नजान निर्देशन दिएको हो । 

मन्त्रालयको परिपत्रमा वर्तमान आर्थिक संवेदनशीलता, चालु आर्थिक वर्षको अन्तिम र नयाँ आर्थिक वर्षको बजेट निर्माणको समयलाई मनन गर्दै विदेश भ्रमणमा नजान भनिएको छ । यसका साथै जनप्रतिनिधि तथा कर्मचारीहरु वैदेशिक भ्रमणमा जाँदा कतिपय कार्यक्रमको आधिकारिता पुष्टि गर्न पनि निर्देशन दिएको छ । 

मन्त्रालयले वैदेशिक भ्रमणको स्वीकृतिका लागि आधिकारिता स्पष्ट पुष्टि हुने कागजात संलग्न गरेर पठाउन पनि स्थानीय तहहरुलाई आग्रह गरेको छ । 

परिपत्रमा भनिएको छ, ‘वैदेशिक भ्रमणको स्वीकृतका लागि स्थानीय तहबाट अनुरोध गरी प्राप्त कतिपय कागजातमा भ्रमण कार्यक्रम सम्बन्धित देशमा रहेपनि आधिकारिकता पुष्ट्याई हुन नसक्ने किसिमका निमन्त्रणा स्वीकृतिका लागि अत्याधिक संख्यामा आउने भएकाले आधिकारिकता स्पष्ट पुष्टि हुने कागजात संलग्न गरेर मात्र पठाउन हुन अनुरोध गरिन्छ ।’

मन्त्रालयले आधिकारिता पुष्ट्याई हुन नसक्ने तथा गलत कागजात तयार गरी पठाएका अनुरोध पत्रमाथि कानूनबमोजिम छानबिन गरी कारबाहीसमेत गरिने जानकारी दिएको छ ।
 

टिप्पणीहरू