नक्कली शरणार्थी प्रकरणमा एमाले अध्यक्ष केपी ओली पनि संलग्न रहेको पूर्वमन्त्री चौधरीको दाबी

नक्कली शरणार्थी प्रकरणमा एमाले अध्यक्ष केपी ओली पनि संलग्न रहेको पूर्वमन्त्री चौधरीको दाबी

पूर्वमन्त्री तथा एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले नक्कली शरणार्थी बनाएर करोडौँ कुम्ल्याउने गिरोहमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको पनि संलग्न रहेको बताएका छन् । 

ओली नेतृत्वको तत्कालीन सरकारले संस्थागतरुपमै मन्त्रिपरिषदबाट यसबारे निर्णय गरेको दाबी गर्दै उनले त्यतिबेलाका प्रधानमन्त्री र गृहमन्त्रीमाथि समेत अनुसन्धान हुनुपर्ने बताए । 

ओलीको नाम उल्लेख नगरी चौधरीले भनेका छन्, 'उक्त कार्य स्वयं तत्कालीन नेपाल सरकारले नै संस्थागत रूपमा मन्त्रिपरिषदकाे बैठकले गरेकाे थियाे । यसबाट प्रष्ट हुन्छ - स्वयं सरकार नै नेपालीलाई भूटानी बनाउने काममा लागि परेकाे देखिन्छ । यसैले तत्कालीन सरकारकाे प्रधानमन्त्री, गृहमन्त्रीसमेत कारवाहीका लागि याेग्य हुनुहुन्छ । वहाँहरूलाई पनि अनुसन्धानको दायरामा ल्याँउनुपर्दछ । नेपाली जनताहरूलाई जस्ताकाे तस्तै जानकारी गराँउनुपर्दछ ।

यस प्रकरणमा संलग्न जाेसुकै व्यक्तिलाई कानुनी कठघरामा उभ्याउनु पर्नेमा जोड दिएका उनले प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच हिजो भएको भेटघाटले पनि शीर्ष नेतृत्वको यसमा संलग्नताको सहज अनुमान गर्न सकिने बताए । 

'पहिलाे चरणकाे अनुसन्धानमा तत्कालीन मन्त्री, मन्त्रीका स्वकिय र उच्चपदस्थ कर्मचारीहरू तानिएका छन्', पूर्वमन्त्री चौधरीले भने, 'हिजाे र आज शीर्ष नेतृत्व तहमा देखिएकाे भेटघाटले शीर्ष नेतृत्वसमेत संलग्नता रहेकाे सजिलै अनुमान लगाउन सकिन्छ ।'

नेपालीलाई भूटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै करोडौँ ठगी भएको यस प्रकरणमा राजनीतिक र कर्मचारीको शीर्ष नेतृत्व मुछिएको छ । एमाले उपाध्यक्ष तथा त्यतिबेलाका गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, एमाले सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप र तत्कालीन गृहसचिव टेकनारायण पाण्डेलाई पक्राउ गरी प्रहरीले अनुसन्धान थालिसकेको छ । 

टोपबहादुर र बादलपुत्र छोरा प्रतीक थापाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ । पूर्जी जारी भएलगत्तै फरार रहेका उनीहरुको प्रहरीले खोजी गरिरहेको जनाएको छ।
 

टिप्पणीहरू