नक्कली अकाउन्ट, सक्कली भ्याकुरखेदाइ

नक्कली अकाउन्ट, सक्कली भ्याकुरखेदाइ

आफ्नै गृहजिल्ला झापामा केपी ओलीमाथि दुव्र्यवहार भयो । एमाले प्रमुख सचेतक पदम गिरीले संसदमै यो कुरा उठाए । अरु नेता कार्यकर्ता पनि अध्यक्षमाथि भएको दुव्र्यवहारको प्रतिरोधमा उत्रने नै भए । उसै पनि ओलीले आफैँ प्रधानमन्त्री रहँदा र लकडाउनका बेला पनि माइतीघरमा युवा विद्यार्थीपुस्ता उतारेर ‘सरकारबाट हटाउन पाइँदैन’ भन्ने जुलुस निकाल्ने सामथ्र्य बनाएकै थिए । त्यो सामथ्र्य कायम रहेको घमण्ड पनि गृहजिल्लामा दोहोर्‍याएर लखेटाइमा परेपछि टुटेको हुनुपर्छ । अझ दोस्रोपटक त राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङ पनि साथमै रहेका बेला पर्‍यो ।

नेम्वाङले २० वर्षसम्म भन्ने गरेको ‘सहमति, सहकार्य र संवाद’ आफ्नै प्रदेशमा कति कमजोर रहेछ, बुझ्ने मौका पनि पाए । यसो भनिरहँदा कुनै पनि नेता जनताका नाममा अराजक हुलबाट लेखटिनुहुन्न । माओवादी लखेटिँदा मख्ख पर्ने एमालेवृत्त आफ्नो अध्यक्षको सुरक्षा दिन नसकेकामा पनि आलोचित नै छ । उसमाथि झापामै ओली लखेटिएको विषयलाई जति उसले लाभका लागि प्रचार खपत गर्‍यो ​​​​​​, त्यति नै हानिको आँकडा बढिरहेको छ । पूर्वमन्त्री केशरबहादुर विष्टले त उनलाई ‘तपाईं आन्दोलन गरेर जेल परेको कि कुखुरा चोरेर ?’ हिसाब देखाउने बेला भयो भनेका छन् । ज्ञानेन्द्र शाहीले तपाईं जेल पर्दा राजा वीरेन्द्रको कृपाले मुक्त भएको र वीरन्द्रलाई ‘मोहर चढाएर’ मन्त्री बनेको होइन भनेर प्रश्न गरेका छन् । यद्यपि, केही महिनाअघिसम्म ज्ञानेन्द्र शाहीको पार्टी र एमाले गठबन्धनमा थियो । 

केही वर्षयता समाजमा नागरिक समाजका नाममा अराजक पात्रहरूको उदय क्रम जारी छ । उनीहरू न राजनीतिक हुन् । न कुनै डफ्फा वा समूहमा छन् । वश पुराना, परिवारसँग जोडिएका, राजनीतिक रूपमा हेलिएको आक्रोशलाई सार्वजनिक समारोहमा प्रदर्शन गरेर आवेग कम गर्न चाहन्छन् । कुनै पनि नेतामाथिको आक्रमण ‘निजी तनाव’ भन्दा पर छैन । यो जानिएकै छ, देखिएकै छ । तर समाज यस्तै हिंसालाई उचाल्दै भन्छ, ‘यसले ठीक गर्‍यो ।’ थुनिँदा उही थुनिने हो । भीडमा उसैले पिटाइ खाने हो । समाज भीडमा नेतामाथि जाइलागेको बेला मात्र ताली बजाइरहेको हुन्छ । प्रहरीबाट कागज गरेर बुझिदिने मान्छे नभएर अरु २४ घण्टा पीडा हुँदा त्यो भीड उसँग हुँदैन । यो व्यक्तिगत घटनाक्रम, उपक्रम हो । बेलाबेला पार्टीका हेभिवेट नेताहरूमाथि हुने व्यक्तिगत घटनामा नेताहरूले माफी दिएर महानता नै देखाएका छन् । कालान्तरमा त्यही पात्र पश्चात्ताप गर्छ । समाजले गर्ने व्यवहारबाट ऊ वाक्कदिक्क भएर एक्लो पर्छ । हिजो फुक्र्याउने समाज पछि उसैलाई अपमानित गरिरहन्छ । 

तर, कोशी प्रदेश नामकरण, मुख्यमन्त्री हिक्मत कार्कीको पालामा भएको घटनाक्रम र यसबाट सिर्जित आन्दोलनबारे एमालेले एक शब्द बोलेको सुनिएन । सरकार चलाउने, ढलाउने र एमाले पार्टी चलाउने एक से एक अनुहार कोशी प्रदेशमा छन् । त्यहीँका सुवास नेम्वाङ, त्यहीँका अबका उदीयमान नेतृत्व योगेश भट्टराई, हिक्मत कार्की, शेरधन राईदेखि केपी ओली, विद्या भण्डारीले के कोशी प्रदेशमा मान्छेको ज्यानै जाने गरी भइरहेको आन्दोलन थाहै नपाएका हुन् त ? प्रश्न यही हो । ओली झलनाथ, रामचन्द्र, रामशरण या विरोध खतिवडाजसरी कुनै अराजक व्यक्तिगतको आक्रमणमा परेका होइनन् । एकाध व्यक्तिको आक्रमणमा त माफ दिएर महानता देखाउनुपर्ने राजनीतिक अनुहारले ट्विटरमा फेक एकाउन्ट खोलेर लेखिएको एउटा एउटा स्ट्याटसमा सिंगो पार्टी नै जुवादाउमा लगाउँदा दोस्रो, तेस्रो पुस्ताको मौनता हो डर, गजबको देखिएको छ । कोही बोलेका छैनन् । जब हिमानी शाहका नाममा चलेको एकाउन्ट नै हिमानीले नचलाएर अरु कुनै व्यक्तिले चलाएको भनेर पूर्वराजाको सचिवालयबाट विज्ञप्ति नै जारी भइसक्यो । नबुझी बोल्दा ओलीले सबैतिरबाट पाएको आलोचनामा पनि उनी टसको मस नदेखिनु उनका लागि भन्दा एमालेका लागि स्वास्थ्यवद्र्धक छैन । एउटा बोलीका कारण राजावादी, राजतन्त्रवादी, राष्ट्रवादी समग्रमा पुरातनवादीहरू एक भएर ओली र एमालेको खेदो खनिरहेका छन् । यस्तो बेला मुख्यमन्त्री कार्कीको प्रतिक्रिया आयो, ‘नाम परिवर्तनको कुनै सम्भावना छैन ।’

हिजो मधेश आन्दोलनका बेला केपी ओलीले नै भनेका थिए, ‘संविधान कुनै धार्मिक ग्रन्थ होइन, परिवर्तन नहुन ।’ उनै अध्यक्षका पार्टीका मुख्यमन्त्रीले चैँ यस्तो बोलिदिएपछि किन पार्टी नेतृत्वप्रति आगो बनिरहेका जनता नखनिउन् ? एमाले हिजो मधेशमा कमजोर हुँदा उसले नागरिकताको कुरा उठाएको थियो । संविधान संशोधनभित्र छिर्ने नागरिक प्रकरणमा लचकता देखाएर मधेशी मत बटुल्न गरेको अभिनय यसपटक उपनिर्वाचनमा एमाले तेस्रोमा पुग्यो । केही महिनाअघि मात्रै राष्ट्रपति विद्या भण्डारीले राष्ट्रपतिको अधिकारभन्दा माथि गएर नागरिकता विधेयक फिर्ता गराएर, दोस्रोपटक प्रमाणीकरण नगरेर सबैभन्दा बढी कसैको मन दुखाएकी थिइन् भने त्यो तराई मधेशकै जनताको दुखाएकी थिइन् । त्यसैले उपनिर्वाचनमा एमाले तेस्रो हुन कसैले रोक्नै सकेनन् । मुखमा एउटा र बोलीमा एउटा गर्ने एमाले प्रवृत्ति संस्कृति नै बनेको छ । त्यसले जनमत सुकाइरहेको विषय नै त्यहाँ छलफल भएन । 

सिंगो समाज कोशीमा एक भएको छ । युद्ध नदी, खोला, पाखापखेराले परिवर्तनका लागि लडेका होइनन् । लडेको जातिले हो, अग्राधिकारका लागि । समुदायले हो समावेशीताका लागि । सीमान्तकृतले हो समन्यायका लागि । तर एमालेले कोशी प्रदेशको जाल हालेर माओवादीको लय भत्काएको गर्व गरिरहँदा आज मधेश प्रदेशमा जस्तै कोशी प्रदेश, जहाँ एमालेको उर्वर नेतृत्वको घरबारीमै भ्याकुरखेदाइ सामना गरिरहेको छ । यो तत्कालका लागि राजनीतिक दलमा एमालेका लागि शुभसंकेत होइन र कालान्तरमा सबै दलका लागि पनि । किनभने नयाँ शक्तिको उदयसँगै साम्प्रदायिक एकता भत्काएर कुनै पनि पार्टी बलियो हुनै सक्दैन । काठमाडौँ बसेर नजरअन्दाज गरेको पनि त १५ वर्ष भइसक्यो । ०६५ मा गणतन्त्र घोषणा भएयता १५ वर्ष पुगिसक्यो । १२ वर्षमा खोला फर्किन्छ भनेझैँ १५ वर्षमा भनेअनुसार दलहरू परिवर्तित भए त ? प्रश्न यही हो, भ्याकुरखेदाइपछि थकाइ मार्दा विवेकी भएर सोचौँ । जनमत, रास्वपा, नागरिक उन्मुक्ति पार्टीमा नेताहरू को छन्, हिजो उनीहरू कुन पार्टी थिए ? कसरी नयाँ आवरणमा उदाए ? स्वर्णिम वाग्लेले किन एमालेको प्रस्ताव नकारेर रास्वपा रोजे ?

राज्य जनमुखी हुन सकिरहेको छैन । राज्य जनमुखी हुन दलहरू जनमुखी हुन जरुरी छ । उही मुद्दा हो जनताले हेर्दा । महोत्तरीका लक्ष्मी कोइरी फरार हुँदाहुँदै चुनाव जितेर बिरामी भएर संसदमा नजाँदा पनि पद रहने । रेशम चौधरीलाई जेलबाट निकालेर शपथ खुवाउँदा पनि सांसद पद नरहने, फेरि उम्मेदवार हुन नदिइने । सरकारमा एमाले नै थिए । एउटा रेशम चौधरीलाई लखेट्दा आज नागरिक उन्मुक्ति पार्टी चौधरीहरूको मात्र ओत लाग्ने ठाउँ नभएर अरु पनि आकर्षित भएका छन् । राजनीति नै नगरेका चौधरीका पिता र पत्नीसमेत जनताबाट न्याय पाइरहेका छन् । जब जनता जिताउँछन् भने नियम त सबैलाई बराबरी हुन्छ । चौधरी थुनिने, कोइरी बिरामी बनेर सांसद भइरहने कसरी हुन्छ ? यो मुद्दामा एमालेले जुन मुढेबल देखाएको छ ।

अर्कोपटक महोत्तरीमा पनि एमालेका लागि सास्तीको संकेत भइसकेको छ । यसपटक कांग्रेसले १५ दिने जनजागरण यात्रा महोत्तरीमै गरेर पनि त्यसको छनक दिएको छ । अपराधमा लागेकाहरूलाई सर्लक्क जोगाउने एमालेको उद्योग अन्ततः अफापसिद्ध भइरहेकामा अब शंका मानिरहनु पर्दैन । कण्डम लगाएर दुई–दुईपटक बलात्कार गर्ने सांसद मोहन बानियाँदेखि लक्ष्मी कोइरीसम्मका घटनाले, नागरिक प्रकरणले, रेशम चौधरी प्रकरणले एमालेको दोहोलो मात्रै काढिएको छ । अरु बेला चुनावमा काढिन्थ्यो । यसपटक केपी ओली घर जाँदा आफैँ मुठभेडमा परेर सिकार भए । फेरि पनि एमालेलाई सच्चिने बेला भयो भनेर सल्लाह दिने कसले ? त्यहाँ समाजवादीमा बसेर एमाले बलियो पार्ने मुकुन्द न्यौपानेहरूकै अबको भूमिका के हुन सक्छ ? शंकैशंकाले एकअर्कामा कुरा पनि हुन नसक्ने पार्टी जो ओलीले बनाएका छन् । भीम रावलसँग वार्ता गर्नुपर्ने अवस्थामा पुगेको पार्टीमा कर्ण थापा, लेखराज भट्ट, रामबहादुर बादल, टोपबहादुर रायमाझी, मणि थापाहरू एमालेमै छन् कि कतै ‘च्याउँम्याउँ’समेत सुनिन्न । 

जनताले मतदानमा मत दिएर सच्चिने अवसर पनि दिएका छन् र देशको गति एकातिर हुँदा अर्को गतितिर जबर्जस्त धकेल्छु भन्न घमण्डीहरूलाई वैशाखमै बदलाको मण्डी पनि ओढाइदिएका छन् । कतै उपनिर्वाचनमा पार्टीको साइज घटाइदिएका छन् । कतै स्थानीय तह र प्रदेश तथा संघ निर्वाचनमा आकार दिएका छन् । आकार दिँदा पनि नहुने, मेरो गोरुको बाह्रै टक्का भन्नेहरूलाई गृहजिल्लामै बसिसुख न उठिसुख हुने गरी कालो झण्डा र भ्याकुरखेदाइ पनि गरेका छन् । सच्चिनुपर्ने सबैले हो, शुरु एमालेबाट हुन जरुरी देखिएको मात्रै हो ।
 

टिप्पणीहरू