बेलायती राजाको राज्याभिषेकमा पूर्वराजालाई पठाउनुपर्ने कमल थापाको माग
राप्रपा नेपालका अध्यक्ष कमल थापाले बेलायती राजा चार्ल्स तृतीय र रानी कोनसोर्टको राज्याभिषेकमा नेपालको तर्फबाट पूर्वराजा ज्ञानेन्द्र शाहले भाग लिनुपर्ने बताएका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै पूर्वराजाले मुलुकको प्रतिनिधित्व गर्नुपर्ने बताएका हुुन् ।
गत वर्ष राप्रपाको महाधिवेशनमा स्वयम् ज्ञानेन्द्रको हस्तक्षेपपछि आफू अध्यक्षमा पराजित भएको बताएका थापाले झण्डै डेढ वर्षपछि उनको पक्षमा धारणा सार्वजनिक गरेका हुन् । विभिन्न समयमा विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका थापाले राजनीतिक व्यवस्था परिवर्तन पश्चात् पूर्वराजाको हैसियतमा रहेका ज्ञानेन्द्रलाई मुलुकको तर्फबाट भाग लिन लगाउनुपर्ने माग राख्नुलाई ‘बौद्धिक दरिद्रता’ को पराकाष्ठ भनिएको छ ।
उक्त समारोहमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्न परराष्ट्रमन्त्री एनपी साउद हिजो त्यसतर्फ प्रस्थान गर्नुभएको छ । यसअघि बेलायती राजाको राज्याभिषेकमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने कार्यक्रम थियो । तर, उहाँको स्वास्थ्य अवस्था बिग्रेपछि नेपाल सरकारले परराष्ट्रमन्त्रीलाई पठाउने निर्णय गरेको हो ।
टिप्पणीहरू