‘ब्यालेट डान्स’ सिक्न थाइ ‘सकिरा’ चीन पुगिन्

‘ब्यालेट डान्स’ सिक्न थाइ ‘सकिरा’ चीन पुगिन् स्रोत : सिन्ह्वा

थाइ ‘ब्यालेट डान्सर’ आफ्नो सपनाको पछि लाग्दै चीन पुगेकी छन् । ‘ब्यालेट डान्स’ बारे थप सिक्न उनी दक्षिणपश्चिम चीनको चोङछिङ ब्यालेट थिएटरमा भर्ना भएकी हुन् । 

थाइल्याण्डको राजधानी बैंकककी सकिरा ब्यालेट नृत्य सिक्नकै लागि चीन पुगेको बताउँछिन् । आफूलाई चिनियाँ संस्कृतिमा निकै रुची भएकाले चीन गएको उनको भनाइ छ । 

आठ वर्षदेखि ब्यालेट नृत्यमा संलग्न रहँदै आएकी उनलाई परम्परागत चिनियाँ कला निकै मनपर्ने भनाइ छ । सानैदेखि नाच्ने रहर साँचेकी सकिरालाई नृत्य शिक्षकले ब्यालेट नृत्य सिक्न सुझाएका थिए । 

शिक्षकले ब्यालेट नृत्य सिक्न चोङछिङ जान सुझाएपछि आफू चीन आएको बताउँदै भन्छिन्, ‘थाइल्याण्डमा चोङछिङ निकै चर्चित छ । थाइ नागरिक भ्रमणका लागि यहाँँ आइरहन्छन् । यहाँ आएर मैले अडिसन दिएँ र पास पनि भएँ । चीनको सबैभन्दा सुन्दर शहरमा काम गर्न पाउँदा म सन्तुष्ट छु ।’

चीनमा उनले थुप्रै नृत्य प्रतियोगितामा भाग लिइसकेकी छिन् । सकिराले हाल परम्परागत ब्यालेट नृत्य सिकिरहेको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ ।

आफ्नो अनुभव सुनाउँदै उनले भनिन्, ‘परम्परागत चिनियाँ ब्यालेट डान्स निकै गाह्रो छ । मैले त्यो नृत्य पहिले सिकेको थिइन । प्रारम्भमा निकै अप्ठ्यारो लाग्यो । यहाँको संस्कृतिबारे मलाई त्यत्ति ज्ञान थिएन । अहिले क्रमशः सिकिरहेको छु ।’

टिप्पणीहरू