फरक रगत समूहको मिर्गौला प्रत्यारोपणमा नर्भिकको सफलता, विदेश जानुपर्ने बाध्यताको अन्त्य

फरक रगत समूहको मिर्गौला प्रत्यारोपणमा नर्भिकको सफलता, विदेश जानुपर्ने बाध्यताको अन्त्य

काठमाडौँको थापाथलीमा रहेको नर्भिक इन्टरनेशनल हस्पिटल ‘एबीओ इन्कम्प्याटिभल रेनल ट्रान्सप्लान्ट’ मा सफल भएको छ । 

फरक ब्लड ग्रुपको व्यक्तिलाई फरक ब्लड ग्रुपको व्यक्तिबाट प्राप्त मिर्गौला ट्रान्सप्लान्ट गर्ने जटिल विधि नै एबीओ इन्कम्प्याटिभल रेनल ट्रान्सप्लान्ट हो । सामान्यतयाः मिर्गौला प्रत्यारोपणमा मृगौला फेल भएको व्यक्तिलाई उसैको ब्लड ग्रुपसँग मिल्ने व्यक्तिले मात्र मिर्गौला दिनसक्छ । 

पहिले त्यस्ता मिर्गौला मात्र प्रत्यारोपण हुँदै आएको नर्भिकमा हालै फरक ब्लड ग्रुुपबाट प्राप्त मिर्गौलाको जटिल मानिने प्रत्यारोपण समेत सफलतापूर्वक सम्पन्न भएको अस्पतालले जनाएको छ । मिर्गौला रोग विशेषज्ञद्वय डा. आरके अग्रवाल र डा. सुमित आचार्य तथा मृगौला प्रत्यारोपण सर्जन डा.राकेश बर्मालगायतको टोलीले निकै दुर्लभ र जटिल मानिएको उक्त प्रत्यारोपण गरेको हो ।

नर्भिकमा हालसम्म सतप्रतिशत सफलताको रेटसहित सात वटा मिर्गाैला प्रत्यारोपण भइसकेको छ । त्यसमध्ये छैठौं पटकको प्रत्यारोपण निकै जटिल र दुर्लभ रहेको डा.आचार्यले बताए । उनका अनुसार बिरामीको मिर्गौला प्रत्यारोपण अघिपछि उसको रगतमा एन्टिबडीको स्तर कम गर्न र दाताको मिर्गाैलालाई अस्वीकार गर्ने एन्टिबडीको जोखिम कम गर्न विशेष चिकित्सा उपचार विधि अपनाइएको थियो ।

यो उपचारमा रगतबाट एन्टिबडीहरु हटाउने (प्लाज्माफेरेसिस) गरिन्छ । सामान्य खालको मिर्गौला प्रत्यारोपणको तुलनामा यो विधि जटिल रहेकाले यसको शुल्क भने केही महंगो पर्ने बताइन्छ । मिर्गौला फेल भई नर्भिकमा उपचाररत ७२ वर्षीय एक पुरुष बिरामीलाई ६५ वर्षीया महिला दाताबाट प्राप्त मिर्गौला प्रत्यारोपण गरिएको हो । मिर्गौला प्राप्त गर्ने बिरामीको ब्लड ग्रुप ‘ओ’ थियो भने दाताको ‘ए’ थियो ।

नेपालको सन्दर्भमा यस्तो प्रत्यारोपण निकै दुर्लभ मानिन्छ । डा.आचार्यले यसरी जटिल विधिबाट उपचार गरी मिर्गाैला प्रत्यारोपण गरिएका ती व्यक्तिलाई छ दिनमै डिस्जार्च गरिएको बताए । उनका अनुसार हालसम्म नर्भिकमा यस्तो प्रत्यारोपण गरिएका अन्य बिरामीको पनि अवस्था सामान्य छ । ‘हामी सतप्रतिशत सक्सेस रेटसहित मिर्गौला प्रत्यारोपणमा नयाँ आयाम थप्दै अगाडि बढेका छौं,’ आचार्यले भने, ‘यस्ता हाइरिस्क ट्रान्सप्लान्टका लागि विदेश नै जानुपर्ने बाध्यता अब अन्त्य भएको छ । यो सबै नेपालीका लागि समेत खुशीको कुरा हो ।

टिप्पणीहरू