दाइजो कुप्रथामा जकडिएको समाजमा निरन्तर महिला हिंसा

दाइजो कुप्रथामा जकडिएको समाजमा निरन्तर महिला हिंसा

विवाहमा बेहुलीको तर्फबाट बेहुला वा उसका परिवारलाई दिइने नगद वा जिन्सीलाई दाइजो भनिन्छ । नेपाली समाजमा परम्परादेखि नै दाइजो दिने प्रचलन छ । पहिले भेटीस्वरुप छोरीको विवाहमा अभिभावकले केही उपहार दिने चलन थियो । 

छोरीको विवाहमा आफ्नो हैसियतले भ्याएसम्मको उपहार दिने गरिन्थ्यो । तर, पछिल्लो समय दाइजो भन्दै मुख फोरेरै नगद तथा विभिन्न सामानको माग गर्न थालिएको छ । यसबाट दाइजो प्रथा समाजमा विकराल कुरीति बन्न पुगेको छ । दाइजोको नाममा हत्या हिंसासमेत हुन थालेको छ । 

हिमाली र पहाडी क्षेत्रको तुलनामा तराई र मधेशमा दाइजो प्रथाले भयावह रुप लिइरहेको छ । दाइजो थोरै ल्याएको निहुँमा श्रीमतीलाई तथानाम गाली, कुटपिट गर्ने र घरबाटै निकाल्ने घटनाहरु बग्रेल्ती भएका छन् ।

दाइजोकै प्रलोभनमा कतिपय पुरुषले बहुविवाह विवाह गरेको घटनासमेत हाम्रो समाजमा पाइन्छ । दाइजोको नाममा महिलामाथि घरेलु हिंसा हुँदै आएको छ । दाइजो लिनु वा दिनु ‘सामाजिक अपराध’ हो । तरपनि नेपाली समाज दाइजोको जालोभित्र नराम्रोसँग रुमल्लिएको छ । 

एक्काइसौं शताब्दीमा आइपुग्दा पनि समाजबाट दाइजोजस्तो कुप्रथा हट्न सकेको छैन । विडम्बना, झन्झन् बढ्दै गइरहेको छ । दाइजोको कारण महिलाहरु शारीरिक तथा मानसिक हिंसाको शिकार भइरहेका छन् । 

तराईमा बेहुलाको शैक्षिक योग्यताको आधारमा दाइजो लिने गरिएको पाइएको छ । अभिभावकहरुले आफ्नो छोराको शैक्षिक योग्यताबमोजिम दाइजो माग गर्छन् । कानुनको फन्दाबाट बच्न  विभिन्न बहानामा दाइजो लिने र दिने क्रम समाजमा चलिरहेको छ । 

दाइजो प्रथा रोक्न थुप्रै अभियान चलाइएको छ । तर यसले खासै प्रभाव पार्न सकेको देखिँदैन । दाइजोकै कारण महिलामाथि भएका हिंसाका घटनाहरु निरन्तर बाहिर आइरहेका छन् । समाजलाई दाइजोले कतिसम्म थिलथिलो बनाएको छ ? हालैमात्र समाजमा देखिएका केही घटनाले छर्लङ्ग गराउँछ । 

घटना १

सामाजिक परम्पराअनुसार वैवाहिक जीवनमा बाँधिएकी एक महिलालाई आगो लगाएर हत्याको प्रयास गरियो । धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २०, देवपुरा रुपैठाकी श्वेता झालाई श्रीमान् राजिव झा, ससुरा शिवशंकर झा, सासू र देवरले आगो झोसेर मार्ने प्रयास गरेका हुन् ।

घटना वैशाख १ गतेको भएपनि वैशाख ८ गते मात्र बाहिर आयो । छातीको तल्लो भागदेखि तिघ्रासम्म जलेकी उनलाई उपचारका लागि प्रादेशिक अस्पतालमा भर्ना गरेपछि मात्र घटना सार्वजनिक भएको हो । उनको शरीरको ३५ प्रतिशत भाग जलेको थियो । घटना बाहिर आउने डरले श्रीमानले उनलाई घरमै थुनेर राखेका थिए । 

भारत माइती भएकी उनका बुबा जयकुमार झा काम विशेषले छोरीको घर आउँदा मात्र घटनाबारे थाहा पाएका हुन् । माइतीलाई कुरा लगाउने आशंकामा श्रीमानले मोबाइलसमेत खोसेको उनको भनाइ छ । एक छोरी र छोराकी आमा श्वेतामाथि लामो समयदेखि कुटपिट हुँदै आएको बताइन्छ ।

घटना २ 

दाइजोको निहुँमा शारीरिक र मानसिक यातनासँगै घर निकालासम्म भोगेकी अर्की महिला हुन, नेहा चौधरी । महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर ५ का पंकज चौधरीसँग प्रेम विवाह गरेकी नेहाले साह्रै दुःखकष्ट सहिन् । 
 
डाक्टरसँग वैवाहिक सम्बन्धमा बाँधिएकी उनले श्रीमानबाट नसोचेको पीडा भोगिन् । विवाह हुनुअगावै पंकजका परिवारले डाक्टरी शिक्षा पढ्न लागेको खर्च व्यहोर्नुपर्ने शर्त राखेका थिए । छोरीले मनपराएककाले अभिभावकले उनीहरुको माग स्वीकार गरे । 

नेहा र पंकजको धुमधामसँग विवाह भयो । तर, केही समयपछि नै पंकज र उसको परिवारको असली रुप नेहासामु आइहाल्यो । दुई महिना बित्न नपाउँदै घरपरिवारले शारीरिक र मानसिक यातना दिन थालेका थिए । 

श्रीमानबाट मात्र होइन्, सासू ससुराको पनि कुटाइ खान थालिन् । यतिमात्र नभएर नेहालाई घरबाट निकालियो । त्यसपछि उनले आफूमाथि भएको पीडाविरुद्ध आवाज उठाइन् । उनीमाथि भएको अन्यायले राष्ट्रव्यापी चर्चा पायो । 

टोखास्थित ग्राण्डी अस्पतालमा कार्यरत पंकजलाई जागिरबाट बर्खास्त गरियो । घरेलु हिंसा र दाइजोविरुद्धको कसूरमा उनी पक्राउ परे । तर चैत १० गते धरौटी रकम तिरेर उनी रिहा भएका छन् । 

यी त केही प्रतिनिधि पात्र मात्र हुन् । दाइजोको कारण पीडित महिलाको संख्या उल्लेखीय छ । वास्तविक रुपमा नै खोतल्ने हो भने नेपाली समाज दाइजो प्रथाले जकडिएको छ । शिक्षितमा गनिनेहरुले नै दाइजोलाई बढावा दिइरहेका छन् । दाइजोविरुद्ध कानुन भएपनि उजुर गर्ने क्रम निकै न्यून छ । महिलामाथि हिंसा गरेपछि घटनालाई घरभित्रै लुकाउने गरिएको छ । 

यसबाट दाइजोजस्तो विकृतिले डरलाग्दो रुप लिँदै गएको स्पष्ट हुन्छ । तर, दाइजो निर्मूल पार्न सरकारी निकायबाट सक्दो प्रयास नभएको जानकारहरु बताउँछन् । दाइजो प्रथाविरुद्ध स्पष्ट कानुन नहुँदा यसमा रोक लाग्न नसकेको उनीहरुको भनाइ छ । 

दाइजोले दिएको यातना सहन नसकेर कतिपय महिलाले आत्महत्याको बाटो रोजेका छन् । कतिपय मरेका छन् भने कतिपय मारिएका छन् । महिलाहरु प्रताडित बनेको घटना असंख्य छन् । यद्यपि, इज्जत र घरपरिवारको डरले गर्दा महिलाहरु खुलस्त भएर बोल्न सकेका छैनन् । 

यता, प्रहरीले समेत दाइजोको यकिन तथ्याङ्क राखेको पाइँदैन । नेपाल प्रहरीको पछिल्लो तथ्याङ्कअनुसार दाइजोका कारण सबैभन्दा धेरै ज्यान गुमाउनेको संख्या मधेश र लुम्बिनी प्रदेशमा देखिन्छ । पछिल्लो पाँच वर्षमा दाइजोको निहुँमा मधेशमा आठ जना महिलाको मृत्यु भएको छ । 

सो कसूरमा प्रहरीले ११ जना पुरुषलाई पक्राउ गरेको छ । लुम्बिनीमा पनि यो अवधिमा पाँच जना महिलाको ज्यान गएको छ । दाइजोको कसूरमा सात जनालाई पक्राउ गरेको तथ्याङ्कमा उल्लेख छ । अन्य प्रदेशमा दाइजोका कारण मृत्यु भएकाको तथ्याङ्क नभएको प्रहरीले जनाएको छ । 

महिला अधिकारकर्मी जस्मिन ओझा दाइजोजस्तो कुप्रथा हरेक घरमा रहेको बताउँछिन् । तराईमा खुल्लमखुल्ला र पहाडमा उपहारको बहानामा दाइजो लिने गरिएको उनको भनाइ छ । दाइजो समाजमा प्रवृत्ति नै बनेको उल्लेख गर्दै उनले यसको विरोधमा बोल्नेहरुले नै आफ्ना छोरीचेलीको विवाहमा दाइजो दिने गरेको गुनासो पोखिन् । 

महिलाहरु जति नै शिक्षित भएपनि समाजको अगाडि केही नलाग्ने उनको जिकिर छ । ‘अहिले अधिकांश शिक्षित भइसकेका छन् । महिलाहरु आफैं पनि उच्च पदमा पुगिसकेका छन् । तर, दाइजोको विरोधमा उनीहरु बोल्न सक्दैन्, किन ? किन कि समाजको अगाडि उनीहरुको केही पनि लाग्दैन’, उनले भनिन्, ‘दाइजो प्रथा हटाउन शिक्षित भएर मात्र पुग्ने अवस्था छैन । हामीले व्यवहारबाटै यो कुप्रथा उन्मूलन गर्न सक्नुपर्छ ।’

यता, सर्लाहीको मंलगवाका पत्रकार राधेश्याम कुशवाहाले दाइजो प्रथाविरुद्ध अभियान नै सञ्चालन गरेका छन् । दाइजोको नाममा छोरा बेच्ने चलनको अन्त्य हुनुपर्नेमा उनको जोड छ ।

टिप्पणीहरू